• १३ साउन २०८१, आइतबार

भूकम्पको डरले घर छोड्दै त्रिपालको बास

blog

भूकम्पको डरले घर छोडेर त्रिपालमुनीको बास बस्दै स्थानीय । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, कात्तिक २७ गते । बाजुराको खप्तड छेडेदह र बूढीगङ्गा नगरपालिकाका अधिकांश स्थानीय भूकम्पको डरमा घर छोडेर त्रिपालमुनिको बास बस्दै आएका छन् । 

कात्तिक २३ गते खप्तड राष्ट्रिय निकुञ्ज नजिक केन्द्र विन्दु बनाएर ६.६ रेक्टरको गएको भूकम्पले खप्तड राष्ट्रिय निकुञ्ज सँगै रहेका बाजुराको खप्तड छेडेदह गाउँपालिका तथा बूढीगङ्गा, नगरपालिका अधिकांश घरहरू भत्किएपछि अहिले त्यहाँका स्थानीय डरले घर छोड्दै त्रिपाल मुनीको बास गर्न थालेका हुन् ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ सिग्रा बस्ने पारूँ देवि रावलले भूकम्पले घर चर्किएपछि डरले  खुला जमिनमा त्रिसाल टाँगेर बास गर्दै आएको बताउनुभयो । उहाँले त्यही चर्किएको घरमा बसौँ भने आफुपनि घरसँगै पुरिने  डरले खुला जमिनमा त्रिपाल टाँगेर बसेको बताउनुभयो । रावलले भन्नुभयो, “कात्तिक २३ गते आएको भूकम्पका कारण यहाँ पृथ्वी बम, खडक थापा, विक्रम थापा, पारुदेवी रावल, प्रेम रावल, राजबहादुर रावल, मनदेवी रावल, शेरबहादुर रावल, विक्रम रावल, हस्त रोकाया लगायतका घरछाना भत्किएका छन् ।’’

बूढीगङगा नगरपालिका–८ मोटावाडा बस्ने खगेन्द्र खड्का, तुलसी देवी दमाई, कृष्ण थापा , नरेश नेपाली र रमेश सार्की लगायतका घर पनि चिराचिरा भएका छन् । अहिले त्यहाँका स्थानीयहरू घरभित्कने डरले गाउँमा त्रिपाल टाँगेर खुला जमिनमा बास गर्दै आएका छन् ।


बूढीगङगा  नगरपालिका–१० का स्थानीय रमेश सार्कीले, भूकम्पले घर चिरा चिरा पारेपछि कति बेला भत्किने हो सो डरमा आफू खुला ठाउँमा त्रिपाल मुनी बस्दै गरेको बताउनुभयो । उहाँले घर पुरै चर्किएकोले  फेरी भूकम्प आएपछि घर सँगै आफुपनि चेपिने डरले चिसो समय भएपनि बाल बच्चा लिएर खुला जमिनमा त्रिपाल टाँगेर बास गर्दै आएको बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका काँडा जयवाग्यश्वरी, पीपलगाउँ, डोगडी, बूढीगङगा नगरपालिकाको बजेडी जुवापानी, पालबाडा, सेलापाखा, तिमाडा, बदेडा लगायतका गाउँ खप्तड राष्ट्रिय निकुञ्ज नजिक पर्दछन् । कात्तिक २३ गते सोही ठाउँमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले जमिन नै दर्किने गरी हल्लाएपछि ती ठाउँका अधिकांश पुराना घरहरू पनि भत्किएको र केही नयाँ घरहरू चिराचिरा भएको स्थानीय सार्कीले बताउनुभयो ।

भूकम्पको कारण जिल्लाको पूर्वी क्षेत्रमा रहेका हिमाली, बूढीनन्दा लगायतका स्थानीय तहमा पनि केही घर र विद्यालय दर्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले, हिमाली गाउँपालिका–५ नन्दापाटा बस्ने जयारुप कार्कीको घर र बूढीनन्दा–७ को शिद्धेश्वरी आवासीय आधारभूत विद्यालय र  बडिमालिका नगरपालिका–८ बाजुरा क्याप्पसको १० कोठे भवन समेत चिराचिरा परेको बताउनुभयो ।

भूकम्पका कारण अहिले बाजुरामा चौपाया तथा मानवीय क्षति नभएपनि भौतिक रूपमा भने ठुलो क्षति भएको छ । जिल्लामा अधिकांश घरहरू माटो र ढुङ्गाले मात्र निमार्ण गरेका छन् । ती घर पनि धेरै पुराना छन् । कोही घर त गत बर्खाको पानीले समेत भत्किएका छन् भने कोही भत्किने अवस्थाका छन् । 

अहिले भूकम्पका कारण प्राय त्यस्ता घर भत्किएका छन् । आर्थिक र गरिबीका कारण राम्रो घर लगाउन नसक्नेकाहरु लागि यती बेला निकै समस्या भएको छ । उनीहरूले भूकम्पको डरमा चिसोको समयमा पनि त्रिपाल टाँगेर बस्नु पर्ने अवस्था सृजना भएको छ ।

त्यस्ता परिवारका लागि अहिले स्थानीय सरकारले तत्काल त्रिपालको व्यवस्था गर्नु पर्ने स्थानीय बताउँछन् । भूकम्पले घर भत्किएर र खुला आकाशमा बस्नु पर्ने अवस्था भएपनि स्थानीय सरकारले कुनै सुनुवाइ नै नगरेको स्थानीयको गुनासो छ । 

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले, भूकम्पबाट प्रभावित भएका स्थानीयका लागि तत्काल त्रिपालको व्यवस्था गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भूकम्पले प्रायः खप्तड छेडेदह गाउँपालिकाको काँडा र जयवाग्श्वरीका अधिकांश घर भत्काएको कुरा आएको छ, त्यहाँका जनप्रतिनिधिबाट वास्तविक रिपोट गाउँपालिकामा आउने बित्तिकै तत्काल उनीहरूलाई बास बस्न सहज हुने गरी त्रिपालको व्यवस्था गरिने बताउनुभयो ।

भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा घरदैलोमा गएर जनचेतना अभियान समेत गर्ने तयारी भएको अध्यक्ष रावतले बताउनुभयो । कात्तिक २३ गते राष्ट्रिय निकुञ्जमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरामा झन्डै १८ वटा भन्दाबढी जोखिममा परेका छन् । ती मध्येका केही घर पुर्णरुपमा भत्किएका छन् भने केही घर चर्किएको वा दर्किएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

भूकम्पले बाजुरामा मानवीय क्षति नभएपनि पनि केही ठाउँमा भौतिक क्षति भएको छ । भौतिक क्षति भएका ठाउँमा रिपोट आएपछि जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय अनुसार राहत तथा त्रिपालको व्यवस्था गर्ने जिल्ला पिपद व्यवस्थापन समिति संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।