• १३ साउन २०८१, आइतबार

सीमा अपराध नियन्त्रण बनेन चुनावी मुद्दा

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक २५ गते । सीमाक्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणका कुरालाई राजनीतिक दलले चुनावी मुद्दा बनाउन सकेका छैनन्। सामाजिक विकासका महत्त्वपूर्ण पक्षका रूपमा रहेको अपराध नियन्त्रण कार्यलाई दलले बेवास्ता गर्दै आएका छन्। १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको कैलालीमा सीमा अपराध रोकिएको छैन। लुटपाट, तस्करी, लागूऔषध ओसारपसारका घटना बढ्दो अवस्थामा छन्।

तर यस्ता घटनालाई निरुत्साहित गर्नेखालको कुरालाई दलहरूले आ–आफ्ना घोषणापत्रमा स्थान दिएको पाइँदैन। घरदैलोका क्रममा पनि नेताले सीमा अपराध नियन्त्रणका कुरालाई उठाएको अहिलेसम्म नसुनिएको सीमावर्ती क्षेत्र टीकापुर नगरपालिका–७ बैदीका भोजराज ढुङ्गानाले बताउनुभयो। उहाँले भन्नुभयो, “अपराधलाई निरुत्साहित गर्ने भनेर चुनावको बेला नेताले बोलेको अहिलेसम्म त सुनिएको छैन तर केही पार्टीले लागूऔषध दुर्व्यसन नियन्त्रणका कुरालाई भने राखेको पाइएको छ।” 

जिल्लाको दक्षिणी क्षेत्र लागूऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ नै मानिन्छ। खक्रौला, कालाकुन्डा, भजनी, लालबोझी, हसुलिया, फूलबारी, बङ्गरा, त्रिनगरलगायतका नाका भएर भारतबाट लागूऔषध ओसारपसार हुँदै आएको बताइन्छ।

त्यतिमात्रै होइन, तस्करीदेखि लिएर लुटपाट, चोरीका घटना पनि बेलाबखत हुने गरेको छ। भारतबाट नेपाल पस्ने चोरले स्थानीयका राँगा, गोरु, बाख्रा, बयलगाडासहित विभिन्न सामान पनि चोरिने समस्या छ। स्थानीयले विगतदेखि भोग्दै आएका यस्ता समस्यालाई समाधानका लागि पहल कदमी भूमिका निर्वाह गर्ने कुरा दलहरूबाट नआउने गरेको कैलारी गाउँपालिका–७ का बुझौना चौधरीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “सीमाक्षेत्रमा अपराध नियन्त्रणको कुरा त केवल सुरक्षाकर्मीको ठेक्का जस्तै मात्रै देखिन्छ। यसमा राजनीतिक दलका नेता बोल्दैनन्। बरु कोही अपराधी पक्राउ परेमा छोड्नका लागि उल्टै सुरक्षाकर्मीलाई नेताले दबाब दिने गरेको कुरा पनि बेलाबेला सुनिन्छ।” 

नेपाल–भारत सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पछिल्लो समय कैलालीको १६ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। सीमाक्षेत्रमा भइरहेका विभिन्न गतिविधिलाई सशस्त्र प्रहरीले चौबीसै घण्टा नजरअन्दाज गर्ने कार्य गर्दै आएको छ। सीमाक्षेत्रमा सशस्त्र प्रहरी बसेपछि विगतमा बढी घट्ने गरेका चोरी, डकैती, लुटपाटजस्ता घटनामा कमी आएको भोजराज ढुङ्गानाले बताउनुभयो।

उहाँले भन्नुभयो, “त्यस्ता घटना घटेको अहिले सुनिँदैन। यद्यपि अन्य अपराधका घटना यदाकदा भइरहेका छन्।” लागूऔषध ओसारपसार र तस्करी भने सीमामा सशस्त्र प्रहरीको उपस्थितिले पनि नियन्त्रणमा आउन सकेको छैन। अझै पनि नियन्त्रणमा आउन नसकेका यस्ता अपराधका घटना निरुत्साहित गर्ने र अमनचैन प्रवर्द्धन गर्नेखालका कार्यलाई दलले वास्ता नगर्ने गरेको सीमाक्षेत्रका बासिन्दाको बुझाइ छ।

सीमाक्षेत्रमा बसेकै कारण सीमावर्ती नेपालीबाट भारतीय अधिकारीले विभिन्न नाममा नगदका साथै जिन्सी बाली असुल्ने गरेका छन्। त्यतिमात्रै होइन, निःशुल्कमा श्रमदान पनि गराउने गरिएको छ। भारतीय भूमिमा चरिचरन, खरखराइ गर्न दिने भन्दै भारतीय अधिकारीले आफूहरूलाई श्रमदान गराउने गरेको मोहनपुरका स्थानीय बलराम चौधरीको भनाइ छ। उहाँले भन्नुभयो, “यस्ता कार्य रोक्नका लागि दलका नेताले पहल कदमी भूमिका निर्वाह गर्नुपर्दछ। तर, उनीहरू जनताका यस्ता समस्यालाई उजागर गरेको सुनिँदैन। खाली विकासको आश्वासन मात्रै बाँड्ने गर्दछन्।” 

सीमावर्ती क्षेत्रका जनतामाथि भारतीय पक्षबाट हुँदै आएको यस्ता कार्य रोक्नुपर्ने भनेर स्थानीय प्रशासनले भने दुई देशको सीमा पार बैठकमा कुरा उठाउँदै आएको छ। सीमाक्षेत्रमा हुने गरेको अपराध, चोरी, तस्करी, बाढी, डुबानका समस्यालाई राजनीतिक दलका नेताहरूले प्राथमिकतासाथ उठाउन आवश्यक रहेको चौधरीको जोड छ।