• १६ भदौ २०८१, आइतबार

मुस्ताङमा चुनावी चहलपहल बढ्यो

blog

म्याग्दी समाचारदाता

म्याग्दी, कात्तिक २२ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा राजनीतिक दल तथा विभिन्न पार्टीका उम्मेदवारको चुनावी सक्रियता बढेको छ । 

नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी देखिएको मुस्ताङमा दुवै दलले आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेका छन् । एउटा प्रतिनिधि सभा र दुइटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले)का प्रेमप्रसाद तुलाचन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीण शेरचन उम्मेदवार रहनुभएको छ । दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयन दर्ता गराए पनि चार जनाले उम्मेदवारी फिर्ता गरेपछि अहिले नौ जनाबीच प्रतिस्पर्धा हुने भएको हो । 

त्यस्तै प्रदेश सभातर्फ क्षेत्र (क)मा एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र (ख)मा चन्द्रमोहन गौचन उम्मेदवार हुँदा सत्ता गठबन्धनबाट क्षेत्र (क)मा कांग्रेसका नाम्डु गुरुङ र (ख)मा विकल शेरचन, राप्रपाबाट कर्मडोल्कर गुरुङ उम्मेदवार रहनुभएको छ ।

पर्यटन व्यवसायमा आत्मनिर्भर मुस्ताङमा पछिल्लो तीन वर्ष कोरोनाका कारण थलिएको पर्यटन बिस्तारै अगाडि बढ्दै गरेको अवस्थामा प्रदेश तथा सङ्घीय चुनावले केही चहलपहल बढाएको छ । चुनावले स्थानीयवासीमा उत्साह बढाएको मुक्तिनाथका व्यवसायी अमृत सुवेदीले बताउनुभयो । 

मुक्तिनाथमा होटल अन्नपूर्ण इनका सञ्चालक सुवेदीले निर्वाचनले पर्यटन व्यवसायलाई थप उत्साह र भरोसा थपेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा १० हजार ४८५ मतदाता रहेको मुस्ताङमा सात हजार पाँच सय ५७ मत खसेको थियो ।

अध्यक्ष पदमा एमालेले चार हजार १२६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । गाउँपालिका अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी थियो । उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार २३६ मत पाएको थियो भने एमालेले तीन हजार ७२० मत पाएको हो । 

जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार करिब पाँच सयभन्दा बढी मतदाता नयाँ थपिएका छन् । प्रदेश (ख)को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । उक्त क्षेत्रमा घरपझोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र थासाङ गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जितेको छ । 

बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र थासाङ गाउँपालिकामा अध्यक्ष एमालेले जितेको छ । यो क्षेत्रमा दुइटा अध्यक्ष जितेका कारण तीनवटा स्थानीय तहको अध्यक्षको मत कांग्रेसभन्दा एमालेको बढी छ ।

मुस्ताङको प्रदेश (क)मा दुईवटा स्थानीय तह लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्छन् । दुईवटै स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो । स्थानीय तहको मतपरिणामअनुसार प्रदेश (क)मा एमालेले गठबन्धनभन्दा छ सयभन्दा बढी मत पाएको थियो । 

निर्वाचनको मुखमा डेङ्गुको सङ्क्रमणपछि उपचार गरेर मुस्ताङ फर्कनुभएका कांग्रेस उम्मेदवार योगेश गौचन घरदैलो र कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ । मुस्ताङमा अहिले एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने गौचनको भनाइ छ । 

त्यस्तै एमालेका जिल्ला अध्यक्ष आशबहादुर थकालीले अहिले एमालेको नेतृत्वमा मुस्ताङको विकासले फड्को मारेको हुँदा जनताले एमालेलाई नै पहिलो दल बनाउने दाबी गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक मतपत्र प्याकिङ गर्ने काम सम्पन्न भएको जनाएको छ । अब अन्य सामग्री तयारी अवस्थामा राख्ने कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभयो ।