• १६ भदौ २०८१, आइतबार

तनहुँमा रोकिएन चितुवा आतङ्क

blog

फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, कात्तिक ५ गते ।
तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा चितुवा आक्रमण नरोकिएपछि स्थानीय बान्सिदा आतङ्कित भएका छन् । विशेष गरी बन्दीपुर गाउँपालिकाको वडा नम्बरहरु १, २, ३ र ४ मा  चितुवा बस्तीमा आएर मान्छेलाई निरन्तर आक्रमण गर्न थालेपछि गाउँबासीहरु दिउँसै ढोका बन्द गरेर बस्नुपर्ने अवस्था आएको छ ।

नरभक्षी चितुवाले दिउँसै बस्तीमा आएर आक्रमण गर्ने गरेकोले आतङ्कित बनेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार बिहान पनि चितुवाले आक्रमण गरी बालिकाको मृत्यु भएपछि त्रसित भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । ‘‘हिंस्रक चितुवा घरी घरी बस्तीमा आउने र मान्छेलाई निशाना बनाएर आक्रमण गर्ने गरेकोले  स्थानीय बासिन्दा त्रसित छन्’’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

गाउँपालिका–३ सिस्नेघारी निवासी निवासी चन्द्रबहादुर घर्ती र चन्द्रमाया चेपाङको छोरी ११ वर्षीया दिना चेपाङको शुक्रबार मृत्यु चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । घरबाट करिब तीन सय मिटरको दूरीमा रहेको साथीको घर जाँदै गर्दा चितुवाको आक्रमणमा परी चेपाङको ज्यान गएको थियो ।

बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । हाल बन्दिपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका– १ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दिपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते हुनु भएको थियो  । केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढ्दो छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाले खाने मुख्य आहाराहरु रतुवा, मृग, चित्तल, बँदेल, वनकुखुरा, खरायो, दुम्सी लगायतको मानिसले अवैध रुपमा मारी खाइदिँदा चितुवाले शिकार गर्ने वन्यजन्तुको कमी आई आहाराको खोजीमा चितुवा मानव बस्तीमा बस्ने गरेकोले वन्यजन्तुको शिकार नगर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । चितुवा पानीको खोजीमा समेत मानव बस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहानहरु संरक्षण गरी पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ ।

चितुवा बुढो भएर दाँत नङ्ग्राहरु भाँचिदै गएका र शिकार गर्न नसक्दा मान्छेको बच्चालाई आक्रमण गरेको हुन सक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । बालबालिकालाई एक्लैदुक्लै नछाड्न, घर वरिपरिको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन, निस्कन परेमा समूहमा धेरै मान्छे भएर निस्कन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।