सामान्यतया नेपालमा असारदेखि नै पानी पर्न सुरु हुन्छ । झरीका कारण मानिस कतै जान सक्दैनन् । खोलामा बाढी आएको हुन्छ । ठाउँ–ठाउँमा पहिरो गएको हुन्छ । बाटो चिप्लो र हिलाम्मे हुन्छ । खेतीपातीको चटारो पनि हुन्छ । जब वर्षा सकिन्छ, तब मानिसमा उत्साह भरिन थाल्छ । खेतमा धान पहेँलै भएर पाक्न थाल्छन् । आँगनमा सयपत्री, मखमली, गोदावरी फुल्न थाल्छन् । दशैँ, तिहारको आगमनसँगै हाट बजारमा चहलपहल सुरु हुन्छ । मानिसमा हर्ष र खुसीको सञ्चार हुन्छ । समूहमा भेला भएर भाका हालेर मारुनीका गीत गुनगुनाउँदै नाच्न थाल्छन् ः
वारि तुँवालो कमै पारि तुँवालो
आँगनैमा नाची नाची लाउकी तुँवालो
खोला खरुको कमै खोला खरुको
मारुनैको लाग्छ माया हैन अरूको ।
यसरी परापूर्व कालदेखि दशैँतिहारको आगमनसँगै मारुनी गाउने र नाच्ने परम्परा रहिआएको छ । मारुनी पश्चिममा नृत्य र पूर्वमा गाथाको रूपमा चर्चित छ । लोकगीत, गाथा वा नृत्य न त कहिल्यै पुरानो हुन्छ, न त नयाँ नै हुन्छ । यो त जङ्गलको त्यो वृक्ष हो, जसको जरा अतीतको गहिराइमा भासिएको हुन्छ । यसमा निरन्तर नयाँ हाँगा, पात पलाइरहन्छ ।
फेरि यो संस्कृतिको त्यस्तो संवाहक हो, जसको माध्यायमबाट वीरता, उमङ्ग, हर्ष, विरह, शृङ्गार आदिको रसस्वादन हुन्छ । वास्तविक संस्कृति, प्रथा, परम्परा आदि लोकगीतमा नै अन्तर्निहित हुन्छ । लोकगीतमा लोकजीवनको दर्शन हुन्छ । मारुनी यसको ज्वलन्त उदाहरण हो । मारुनीको उत्पत्ति नेपालको पूर्व, पश्चिम, मध्य कहाँबाट भयो ? ठोकुवा गर्न सकिन्न । पश्चिममा मारुनी नृत्यको रूपमा र पूर्वमा गाथाको रूपमा चर्चित छ । मारुनी गाथा कोसी प्रदेशमा उर्वर रूपमा फस्टाएको पाइए पनि यसलाई ठेट पूर्वेली भाकामा भने राख्न मिल्दैन । तर मारुनीका लय भने पूर्वमा नै अधिक चर्चित छ । हीरादेवी वाइबा, कविता आले, देवीप्रसाद ओली, भानु ओली, तुलसी पराजुली आदिका ठेट मारुनी र मारुनी लयमा आधारित भाकाहरू जनजिब्रोमा झुन्डिन सफल छन् । भर्खर दशैँमा घर फर्किन लागेका लाहुरेको मनमा उत्पन्न भावनालाई मारुनी लयको माध्यमबाट पोखिएको पुरानो गीत आज पनि त्यति नै चर्चित छ ः
धनकुटाको डाँडैडाँडा चल्तो हुलाकी
सासूलाई चाबी सालोलाई जाबी
सालीमाज्यूलाई झुम्के बुलाकी
ओखलढुङ्गा परिपट्टि चल्यो समला नि राजै चल्यो समला
सासूलाई सिक्री सालोलाई खुकुरी
सालीमाज्यूलाई झुम्के रुमाल ।
त्यस्तै अरूण उपत्यकाको सङ्कलनमा रहेको पैसाझारे मारुनी गीत पनि त्यति नै चर्चित छ ः
केके टिपङ्गे कमै केके टिपङ्गे
सुबदार बाको आँगनैमा पैसा टिपङ्गे
बन्दुक भरुवा कमै बन्दुक भरुवा
दाहाल कान्छीले सुर्ती दिइन, मैन मरुवा ।
मारुनीका समला, टप्पा, ख्याली, मसले, विरहिणी आदि रागरागिनी हुन्छन् । पूर्वमा चर्चित हीरादेवी वाइबाको स्वरमा रहेको समला रागको मारुनीमा लाहुर जान लागेका खसमलाई यसरी भनिएको छ–
लाहुरे दाइ छाडेर नजाउ है चट्टै
बाटा र मुनि बाटा र माथि फूल फुल्यो चुवाको चट्टै
हजुरले लाको दौरा र सुरुवाल के विधि सुहाको चट्टै
मारुनी भाका खस, मगर, कुम्हाल जातिमा प्रचलित छ । सायद पश्चिमबाट बसाइँ सर्दै पूर्व जाँदा उनीहरूले भाका पनि लिएर गए र त्यहाँको माटो अनुरूप मारुनी गाथा बनाएर गाए कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
मारुनी परम्परागत नृत्य भएकोले यसमा प्रयोग हुने बाजा पनि परम्परागत नै हुन्छन् । यसमा मुख्य रूपमा प्रयोग हुने बाजा भनेको मादल हो । मादलमा पनि गुरुले बजाउने छुट्टै मादल हुन्छ । अरू समूहले बजाउने मादल छुट्टै हुन्छ । अर्को प्रमुख बाजा खाँकर हो । जुन काँस र पित्तलको धातुले बनेको हुन्छ । गोडामा लगाउँदा घुँघरूझैँ छमछम बज्छ । अर्को प्रमुख बाजा भने मुजुरा नै हो ।
मारुनी नाच दशैँतिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तीजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दशैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । यो नाच सुरु गर्नका लागि ‘नाच बाँध्नु’ भनिन्छ । विशेष गर तिहारको देउसी र भैलोमा मारुनी गीत र नृत्यको छुट्टै आकर्षण हुन्छ । पूर्व र पश्चिममा नाच्ने तरिका र गीतको ताल भने फरक रहेको पाइन्छ ।
यो नृत्यमा मारुनी भन्ने छुट्टै हुन्छ जसमा पुरुषले महिलालेझैँ कपडा लगाएर सिँगारिएको हुन्छ । अनेकौँ हाउभाउले मनोरञ्जन दिन पुर्सुङ्गे, ल्वाँगे, ढँटुवारे, झिल्के, पाङ्दुरेहरू हुन्छन् । मारुनीमा अनैकौँ लोककथा, पौराणिक कथा जोडिने भए पनि एउटै निश्चित दायरामा भने बाँधिएको छैन । आफ्नो आफ्नो वर्ग अनुरूप आफ्ना मनका बहहरू पोख्नलाई यसको लय पछ्याइएको पाइन्छ । मारुनी एउटा नदी हो जसमा अनेकौँ भँगाला मिसिएका छन् । यो अति झन्झटिलो, बोझिलो हुनाले पछिल्लो चरणमा आएर लोपोन्मुख अवस्थामा पुगेको छ । कुनै समय दशैँतिहार आउँदा यी भाकाहरू खुब गुन्जिन्थ्यो तर केही समय यता आएर यी भाका सुन्न पाइँदैन । मूलतः यसमा गुरु मुख्य हुन्छ । तर गुरुहरूको निधनपछि उत्तराधिकारीको अभावमा यो भाका लोप हुने अवस्थामा पुगेको हो ।