• ९ मंसिर २०८१, आइतबार

छाडा पशु चौपाया व्यवस्थापन चुनौती बन्दै

blog

नगरको व्यस्त बजार त्रिभुवन चोकमा छाडा पशु चौपायाको विगविगी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज १९ गते । नेपालगन्ज बजारमा छाडिएका पशु चौपाया नेपालगन्ज उपमहानगरपालिकाका लागि ठूलो चुनौती बन्दै गएका छन् । ती छाडा पशु चौपायाको व्यवस्थापन गर्न उपमहानगरलाई हम्मे परेको छ । 

गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन सडक र गल्लीमा अलपत्र देख्न सकिन्छ । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुला स्थानमा तारबार गरी अस्थायी गौशाला बनाएर चौपाया थुन्ने गरेको छ । तर पनि बजारमा छाडिने छाडा चौपायाले विभिन्न सडकमा आवागमन गर्नेलाई सास्ती भोग्नुपरेको  स्थानीयको भनाइ छ । 

केही दिन पहिले मात्रै पशु चौपायाकै कारण दुर्घटनामा परेर एक जना युवकले ज्यान गुमाउनु परेको थियो । नेपालगन्ज ११ का दिनेश गुप्ताले छाडा चौपायाका कारण त्रिभुवन चोक क्षेत्र असुरक्षित र दुर्गन्धित बनेको बताउनुभयो । उहाँले सोही कारणले व्यापार व्यवसायमा समस्या भएको बताउनुभयो ।  

नेपालगन्ज उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नीति नियमको निर्माण गरी रणनीतिका आधारमा समस्या समाधान गर्नुपर्ने स्थानीयको सुझाव छ । 

नेपालगन्ज –६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि वडा २१ पुरैनाको खाली जग्गामा खुल्ला रूपमा छाडा चौपाया थुन्ने गरिएको छ । उता नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या समाधान नहुने उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । 

नेपालगञ्जको छाडा चौपाया नगरवासीद्वारा सिर्जित समस्या मात्र नभएको जनाउँदै सीमा पारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट पनि संयौंको सङ्ख्यामा पशु धपाउने गरिएकाले समस्या सधैँ रहने बताउनुभयो । 

उपमहानगरका अनुसार खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या जस्ताको तस्तै रहने गरेको छ । 

समयसमयमा पशु चौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरको नगर प्रहरीको संयुक्त टोलीले काञ्जी हाउस पुर्‍याउँदै आएपनि फेरी बजारमा थपिने गरेको काञ्जी हाउस शाखाका पवन कनौजियाले बताउनुभयो । 

उहाँले यो समस्या समाधानका लागि स्थानीय जनताले पनि चौपायालाई छाडा छाड्न बन्द गर्नुपर्ने र व्यवस्थापनमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने उपमहानगरपालिकाको निर्णय निकै आलोचित बनेको थियो ।