बैतडी, असोज १३ गते । कृषि अनुसन्धानकर्ताले सुदूरपश्चिमको तराईको कैलालीदेखि पहाडको बैतडीसम्म पाइने १२ प्रजातिका रैथाने धानबारे अनुसन्धान सुरु गरेको छ । रासायनिक मलको प्रयोग बढ्दो छ र पर्याप्त आपूर्ति नहुँदा बर्सेनि अभाव हुने गरेको छ । कहिले अतिवृष्टि, कहिले अनावृष्टिले त कहिले रासायनिक मल अभावले धान उत्पादन प्रभावित हुने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति शास्त्र विभागले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीका रैथाने धानको अनुसन्धान गर्दा ९० प्रतिशतभन्दा बढी लोप भएको पाइएको अनुसन्धान टोलीका डा. चन्द्रप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “रैथाने जातको धानको बीउबारे एक वर्षदेखि अनुसन्धान गरिरहेका छौँ । रैथाने धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ । तराईको कञ्चनपुरको बेलौरीदेखि डडेल्धुराको भित्री मधेश जोगबुढा र पहाडको बैतडीमा पाइने रैथाने धानको प्रजातिबारे अनुसन्धान गर्दा ९० प्रतिशत बीउ लोप भएको पायौँ ।”
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीका रैथाने धानको अनुसन्धान गर्दा ९० प्रतिशतभन्दा बढी लोप भएको पाइएको छ ।
सुदूरपश्चिमको तराईदेखि पहाडको बैतडीसम्म स्थानीय रातो बासमती, डाँडा बासमती, हिमाली, माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, अञ्जना, घिउपुरी, लालचन्द र सुठियारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बैतडीको पाटनमा फल्ने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ अहिले फेला नै नपरेको अनुसन्धान टोलीका डा. पोखरेलले बताउनुभयो । पाटनका किसानले पछिल्लो समय खुमल–४, उन्नत जातको धान लगाउँदै आएका छन् ।
यो वर्ष उन्नत जातको धान बाला लाग्ने बेला झरेर नष्ट भएको बैतडी पाटनका किसान दिने विष्टले बताउनुभयो । पाटनमा करिब ३० वर्षदेखि उन्नत जातको धान खेती हुँदै आएको उहाँले बताउनुभयो ।
बैतडी पाटनका किसानलाई २०४५ सालमा खेती प्रणाली नामको प्रोजेक्टले खुमल–४ जातको धानको बीउ वितरण गरिएको राजेश पन्तले स्मरण गर्दै भन्नुभयो, “सुरुसुरुमा त एक किलो बराबर करिब ६० किलो उत्पादन भयो । पछि बिस्तारै उत्पादन घट्दै जान थालेको खुमल–४ मा अहिले त बाला लाग्नेबित्तिकै पहेँलो भएर बोट सुक्ने समस्या सिर्जना भएको छ । स्थानीय रैथाने धानको बीउ लोप भएकोमा अहिले पछुतो लागिरहेको छ ।”
रैथाने धानको बीउ जोगाउन नसके खाद्यान्नमा नेपालले ठूलो क्षति बेहोर्ने अनुसन्धानकर्मीले औँल्याएका छन् । अर्का अनुसन्धानकर्ता डा. लालबहादुर थापाले उन्नत जातको धानमा रासायनिक मल चाहिने तर बाहिरबाट मल नआउने भएकाले रैथाने धान जोगाउन नसके ठूलो क्षति हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “उन्नत जातको धानले रोग, कीरा सहन सक्दैन । मलखाद नभई फल्दैन । धेरै वर्षात्मा बाला झरेर जाने समस्या हुन्छ । यही कारण गत वर्षको बाढीले धानमा ठूलो क्षति गरेको थियो तर स्थानीय जातको धानमा यो समस्या हुँदैन । रासायनिक मल पनि चाहिँदैन । सानोतिनो वर्षात्ले धानको बाला झार्न सक्दैन । रोग, कीरा पनि कम लाग्छ । त्यसैले अनुसन्धानपछि सरकारलाई रैथाने धान खेतीका लागि सुझाव पेस गर्छौं ।”
सुदूरपश्चिममा पाइने रैथाने धानको अनुसन्धान गर्न बैतडीको पाटन, कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, डोटीको जोरायल, डडेल्धुराको जोगबुढा परिगाउँमा स्टेसन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य डा. चन्द्रप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान टोलीमा त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्राडा रामकैलाशप्रसाद यादव, डा. चन्द्रप्रसाद पोखरेल, डा. लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्त सहभागी छौँ । हामीसँगै वनस्पति शास्त्रमा स्नातकोत्तर गरिरहेका चार जना र पीएचडी गरिरहेका एक गरी पाँच जना विद्यार्थी पनि सहभागी छन् ।”
विज्ञ टोलीसँगै अनुसन्धानमा सहभागी विद्यार्थीले रैथाने धानसँगै हावापानी र माटोको समेत अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।