• ११ पुस २०८१, बिहिबार

पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङ्पाल

blog

चौतारा, भदौ २४ गते । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पर्यटकीय आकर्षक स्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ ।

समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिक स्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमशृङ्खला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । पालिका अध्यक्ष लामाका अनुसार प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ ।

गाउँपालिका उपाध्यक्ष सुनीता अधिकारी पर्यटन प्रवर्द्धनका लागी सबैभन्दा महत्त्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताउनुभयो । हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भूभागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने गर्दछ ।

पालिकाले महत्वाकांक्षी योजनको रूपमा पाँचपोखरीसम्म केवलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । केबलकार निर्माण गर्न झण्डै रु. दुई अर्ब लाग्ने अनुमान छ ।

केवलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने बताउनुहुन्छ वडा नम्बर –३ भोताङका वडाअध्यक्ष निमाछिरिङ तामाङ । वडाअध्यक्ष तामाङका अनुसार यसका लागि यहाँ दुईवटा वैकल्पिक बाटो निर्माण भइरहेको छ । मेलम्ची–भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जाला पास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उहाँले बताउनुभयो ।