• १३ साउन २०८१, आइतबार

पहिरोले बाजुराको अम्कोट बल्दे सडक अवरुद्ध हुँदा स्थानीयलाई सकस

blog

साँफे मार्तडी लोगमार्ग अन्तर्गत बल्दे अम्कोट सडकको पहिरोमा ज्यान जोखिम राखेर भारी ओर्सार्दै महिला। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ १५ गते। बाजुराको बूढीगङ्गा नगरपालिका-१ अम्कोट बल्दे सडकमा पहिरो गएर बाटो बन्द भएपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान ओसार्न सकस भएको छ।

साँफे-मार्तडी लोकमार्ग अन्तर्गत पर्ने अम्कोट बल्दे सडकमा पहिरो बग्न थालेपछि झण्डै दुई महिनादेखि बाटो बन्द छ। बडिमालिका नगरपालिका-६ बविता बडुवालले बूढीगङ्गा नगरपालिका- १ मा रहेको अम्कोट बल्दे सडकमा पहिरो गएर बाटो बन्द हुँदा गाडी नभएर मानिसलाई समेत ज्यान जोखिम राखेर आउजाउ गर्नुपरेको बताउनुुभयो।

उहाँले भन्नुभयो, ‘सदरमुकाम मार्तडीसम्म चल्ने गाडी बूढीगंगा नगरपालिका-२ को बल्देमै रोकिएकोले त्यहाँबाट दैनिक उपभोग्य सामग्री ज्यानको जोखिम गरेर बोक्नु परेको छ।’

बडिमालिका नगरपालिका-४ रिलाकी कविता विक घर खर्च गर्नका लागि मार्तडीका व्यापारीको पसलको समान बोकेर चलाउन सहज भएपनि अम्कोट बल्देको पहिरोमा ज्यानको जोखिम मोलेर सामान ल्याउनु परेको बताउनुहुन्छ। 

बूढीगङ्गा नगरपालिका-२ बेल्देका व्यापारी वीरबहादुर थापाले मार्तडीदेखि कोल्टीसम्म जाने सबै सामान रोकिएको बताउनुभयो। ‘अन्य ठाउँबाट बाटो छैन,  पहिरोमा भरियाले सामान ओसार्दै आएका छन्। यो समस्या सम्बन्धित निकायले बुझ्नुपर्छ’, उहाँले भन्नुभयो। 

साँफे मार्तडी लोकमार्ग अन्तर्गत बल्दे अम्कोट सडक प्रत्येक वर्ष यसरी नै अवरुद्ध हुने गरेको छ। सडकको तलबाट नदीले कटान गर्दै आएको र पहिरो नरोकिएपछि अम्कोट बल्दे सडक अवरुद्ध हुने गरेको छ।

सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले अविरल वर्षाका कारण सडक खुलाउन सकस भएको बताउनुभयो। लामो समयदेखि बाटोे बन्द हुँदा स्थानीयलाई आउजाउमा परेको कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल अम्कोट बल्देको बाटोलाई खोल्न प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार लगातार पानी परेकाले तत्काल बाटो खुलाउन नसकिएको हो।