• १३ साउन २०८१, आइतबार

आहारा मासिँदा डल्फिन हराउने चिन्ता

blog

अविनाश चौधरी 

धनगढी, भदौ १२ गते । पथरैया नदी किनारैमा घर । नदीमा वर्षायामभरि डल्फिन । घरमूली नरेन्द्र रेग्मी साँझ–बिहान डल्फिनसँग नरमाएको सायदै कुनै दिन होला । नदीको पानीमा खेल्दै डल्फिन उफ्रिन्छन्, किनारमा खुसीले रेग्मी । प्रायः गोधूलि साँझ डल्फिनसँग बिताउने उहाँको हरेक सूर्योदय पनि डल्फिनसँगै हुने गर्छ । 

चेतनशील ती जलप्राणी रेग्मीलाई आफ्नो परिवारको सदस्यजस्तै लाग्छन् । त्यसैले चिन्ता छ, उहाँलाई डल्फिनको । रेग्मीले भन्नुभयो, “आहारा प्रजातिका माछा सकियो भने डल्फिन यहाँ रहँदैनन् । सबैभन्दा समस्या माछा सिकारीले गरिरहेका छन् ।” 

डल्फिन संरक्षित क्षेत्र भनिए पनि कैलालीको टीकापुर नगरपालिका–७, बैदी, भजनी नगरपालिका–८ काँढाढि, दैलेखी टोलतिर जथाभावी माछा मार्ने कार्य रोकिएको छैन । माछा सिकारीले जाल, बल्छी, च्योँधी (फिसिङ नेट)लगायत प्रयोग गरी जथाभावी माछा मार्दा त्यसको गम्भीर असर डल्फिनलाई पर्ने संरक्षणमा क्रियाशील रेग्मीको बुझाइ छ । 

उहाँले थप्नुभयो, “आहारा प्रजाति पर्याप्त मात्रामा भएका कारणले नै यहाँ डल्फिन आउँछन् । माछा नै सकिए भने डल्फिन पनि रहँदैनन् ।” त्यति मात्रै नभई बल्छीमा पारेर डल्फिनलाई नै लुकिछिपी मार्न सक्ने खतरा पनि रहेको उहाँ बताउनुहुन्छ । 

रेग्मी जस्तै चिन्ता अरू संरक्षणकर्मीलाई पनि भएको छ । हरप्रयास गर्दा पनि माछा मार्ने कार्यलाई रोक्न नसकिएको बताइएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका टीकापुर नगरपालिका–७ बैदी, ढुङ्गाना टोलवासी भोजराज ढुङ्गानाले सबैभन्दा बढी समस्या ‘च्योँधी’को प्रयोग गरेर माछा मार्नेले गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भेटिए जतिकालाई सकेसम्म सम्झाइबुझाइ गर्दै आएका छौँ तर विभिन्न गाउँबाट कतिपय व्यक्ति समूहमा आएर राति माछा मार्ने गर्छन् । त्यस्तालाई सम्झाउन समस्या छ ।”

ढुङ्गानाका अनुसार जाल र च्योँधीमा डल्फिन पर्दैनन् तर समस्या माछा मार्दा भएको हो । यद्यपि आफूहरूको सक्रियताका कारण च्योँधीले माछा मार्ने कार्य कम हुँदै गएको उहाँको भनाइ छ । संरक्षणकर्मीका अनुसार डल्फिनका लागि मुइयाँ, पढ्नी, तिलोरी (लम्सेरी), रहु, भाँकुरलगायतका माछा आहारा प्रजाति मानिन्छन् । 

यिनै प्रजातिका माछाको सिकार गर्न र आफ्नो बच्चा हुर्काउनका लागि डल्फिन कैलालीको मोहना, पथरैया, काँढा, कान्द्रा नदीमा पुग्ने गरेका छन् । अन्य समय कर्णाली नदीमा बस्ने डल्फिन मनसुनमा मात्रै सहायक नदीमा पुग्ने गरेका जनाइएको छ । ती डल्फिन बच्चासहित मोहना–पथरैया नदी, पथरैया–काँढा नदी, पथरैया–गैरी खोला, मोहना नदी–राप्ती खोलाको दोभानमा मनै लोभ्याउने गरी खेल्ने गर्छन् । 

हुलाकी राजमार्गस्थित पथरैया नदीको पुलदेखि तल्लो तटीय क्षेत्रमा पूर्ण रूपमा माछा मार्न प्रतिबन्ध लगाउन सकिए डल्फिन संरक्षणमा ठूलो टेवा पुग्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ । कैलालीमा अहिलेसम्म स्थानीय स्तरबाट मात्रै डल्फिन संरक्षणको कार्य भइरहेको छ । समुदायले दुई दशकदेखि डल्फिनको संरक्षण गरिरहेको धेरै वर्षदेखि संरक्षणमा क्रियाशील विजयराज श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “संरक्षणमा नदी तटीय क्षेत्रका समुदायको धेरै ठूलो योगदान छ । पछिल्लो समय स्थानीय सरकारले पनि केही सहयोग गरिरहेका छन् ।” टीकापुर नगरपालिकाले पर्यटक आरामका लागि केही बेन्च सहयोग गरेको जनाइएको छ । 

अन्तर्राष्ट्रिय प्रकति संरक्षण सङ्घ (आईयूसीएन)को रातो सूचीमा रहेको गङ्गेटिक प्रजातिको डल्फिन नेपालसहित भारतलगायतका देशमा पाइन्छन् । विश्वमै थोरै सङ्ख्यामा रहेको गङ्गेटिक डल्फिनले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने सम्भावना रहेको छ । कैलालीका नदीमा देखिने डल्फिन अवलोकनका लागि बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।