नयाँदिल्ली, भदौ ९ गते । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् बुधबार मध्यरातिसम्म दश हजार ७२५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात् बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमित ९४ हजार ४४७ जना छन् ।
गत २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ४८८ भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कुल चार करोड ३७ लाख ४५७ जना कोरोनामुक्त भएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार ७२३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
यसैबीच दक्षिण कोरियामा बुधबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख १३ हजार तीन सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा काेरोना पीडित हुनेको सङ्ख्या दुई करोड २७ लाख एक हजार ४७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
यो घातक सङ्क्रमणबाट सोमबार १०८ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार ३३२ पुगेको छ । रासस/एएनआई