• ७ मंसिर २०८१, शुक्रबार

प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा (फोटो फिचर)

blog

खोटाङ र भोजपुरको सिमाना मयुङस्थित मातिमडाँडामा चरणका लागि पुगेका भेडा । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, भदौ ८ गते ।
धार्मिक आस्थाको प्रतीक अनि प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो साल्पा, जसको बारेमा सुनेपछि एक पटक जान मन लाग्ने । जुन खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा गरी चार जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो ।

चार जिल्लाको संगमस्थल भए पनि भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका साविकको दोभाने गाउँ विकास समितिमा साल्पा पोखरी पर्दछ । समुद्र सतहदेखि तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा पोखरीमा चार जिल्लाबाटै जाने बाटा छन् ।

खोटाङको सदरमुकाम दिक्तेलदेखि तालखर्क, मैयुङ डाँडा हुँदै मुन्दुम पदमार्गको बाटोबाट जान सकिन्छ भने सुङदेल हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ ।


सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर पनि जान सकिन्छ । भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गर्दै साल्पा पोखरी पुग्न सकिन्छ । यस्तै, सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट महाँकुलुङ गाउँपालिका हुँदै पनि साल्पा पोखरी पुग्न सकिन्छ ।

पहिलो पटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरीकै मार्ग प्रयोग गरेको भनाइ छ । साल्पा पोखरी नजिकै करिब ४१ सय मिटर अग्लो शिलिचुङ डाँडा छ । पोखरीमा पुगेका पर्यटकहरु उक्त चुचुरोमा पुगेर मनोरम दृश्य अवलोकन गरेर मात्र फर्किने गरेका छन् । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिकलगायत हिमशृङ्खला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजङ्गल र बस्ती मज्जाले देख्न सकिन्छ ।


चारैतिर पहाडले घेरिएको उक्त पोखरीलाई किराँतीहरुले साली–पा (सबैभन्दा उच्च स्थानमा रहेको पुर्ख्यौली भगवान) भनी सम्बोधन गरेको पाइन्छ । विभिन्न जातजातिका धार्मिक आस्थाको केन्द्र साल्पा पोखरीमा वर्षको चारपटक चण्डीपूर्णिमा, मङ्सिर पूर्णिमा, ऋषितर्पणी पूर्णिमा र कात्तिक पूर्णिमामा मेला लाग्ने गर्दछ ।


वाक्य नफुटेकाहरुलाई साल्पा पोखरीमा लगेर चाेबल्दा आछुछु भन्दै वाक्य फुट्ने विश्वास रही आएको छ । बच्चा नहुनेहरुले पनि साल्पा पोखरीमा गएर मागेपछि बच्चा हुने धार्मिक विश्वास छ । धार्मिक सँगसँगै प्राकृतिक रुपमा पनि सौन्दर्यले भरपिूर्ण भएका कारण साल्पा पोखरीमा पर्यटकहरुको मन लोभिने गरेको छ । पछिल्लो समय पोखरी घुम्न जानेहरुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पोखरी वरिपरि भेडीगोठ राखेर बसेका छन् ।


साल्पा पोखरीमा कुनै होटल पसलहरुको भने व्यवस्था छैन तर, त्यहाँ भेडीगोठ राखेर बसेकाहरुले खान र बस्नको सामान्य व्यवस्था गर्दिने गरेका छन् । साल्पा पोखरीको प्रवर्धनका लागि मुन्दुम पदमार्ग निर्माण बाहेका अन्य काम अहिलेसम्म भएका पाइँदैनन् । नेपालका घुम्नैपर्ने १०० ठाउँमध्येमा साल्पा पोखरी पनि राखिएको छ । सरकारले यस पोखरीको प्रवर्धन गरेर बाह्य पर्यटक भित्र्याउन सके नेपालको आर्थिक आम्दानीको गतिलो स्रोत साल्पा पोखरी बन्न सक्छ ।