• १३ साउन २०८१, आइतबार

नसर्ने रोगको सूचीमा उच्च रक्तचाप

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, भदौ ८ गते  । सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रहेको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो एक वर्षमा नसर्ने रोगमध्ये जिल्लामा पहिलो सूचीमा परेको उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ। 

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लामा नसर्ने रोगमध्ये उच्च रक्तचाप रोगका बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो। दोस्रो सूचीमा रहेको दीर्घ स्वासप्रश्वासका छ हजार ७९१ जना बिरामीको पछिल्लो एक वर्षमा उपचार भएको छ। यसैगरी नसर्ने रोगअन्तर्गत मुटु रोगसँग सम्बन्धित पाँच हजार ८० बिरामी, मधुमेहका दुई हजार ६५९ जना बिरामी, एन्जाइटी (चिन्ता/डर) का एक हजार २२२, डिप्रेसन (दिग्दारी)का ७९६, दीर्घ मादक पदार्थ/लागूऔषध सेवनका ५७३ बिरामीको उपचार गरिएको छ। 

मुटुको बाथ रोगका ४१० जना, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका २७७ जना, मानसिक असन्तुलनका २६६ जना र कडा खालको मानसिक रोगका २१३ जनाको उपचार भएको कार्यालयले जनाएको छ। 

उहाँले जिल्लाका विभिन्न अस्पताल तथा निजी स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट नभएको हुनसक्ने भएकोले जिल्लाबाहिर तथा जिल्लामा रहेका अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या प्रणालीमा नआएको हुन सक्ने बताउनुभयो। उहाँले अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो।