खार्तुम, भदौ ७ गते । सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो ।
यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुने गरी क्षति पुगेको पनि बताइएको छ ।
यहाँका केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजार जनाभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन् ।
बाढीका कारण यहाँका कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ । अत्यधिक jर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको यहाँको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ । बाढीको बढी प्रभाव रहेका विभिन्न छ राज्यमा सुडानको मन्त्रिपरिषद|ले आपतकालको घोषणा गरेको सोमबार जनाइएको हो ।
नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाइल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।
प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रबन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदातालाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ । रासस/सिन्ह्वा