• ९ मंसिर २०८१, आइतबार

'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री' राप्रपा नेपालको अवधारणा

blog

राप्रपा नेपाल केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष कमल थापा ।

काठमाडौं, साउन ३१ गते। कमल थापा नेतृत्वको राप्रपा नेपालले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पार्टीको मुख्य अवधारणा हुने निर्णय गरेको छ। राप्रपा नेपालले लोकतन्त्र, सनातन हिन्दु राष्ट्र, केन्द्र र स्थानीय गरी दुई तहको सरकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मुख्य अवधारणा रहने निर्णय गरेको छ।

पार्टी अध्यक्ष थापाको नेतृत्वमा सोमबार र मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकमा देशको वर्तमान अवस्थाको समीक्षा, पार्टीको भावी कार्यदिशा एवम् आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल भएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो। 

बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको ‘सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण’ विषयक राजनीतिक कार्यपत्र परिमार्जनसहित पारित भएको छ। उहाँले महामन्त्री भाष्कर भ्रदा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले प्रस्तुत गरेको सचिवालय, प्रशिक्षण र संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको बताउनुभयो।

आचार्यले धर्मनिरपेक्षता र धर्म परिवर्तनलाई नियन्त्रण गर्दै सुशासन र आर्थिक समृद्धि एवम् भ्रष्टाचार नियन्त्रण  बेरोजगारी समस्या समाधान पार्टीको प्रमुख कार्यनीति हुने  उल्लेख गर्नुभयो।

राप्रपा नेपाले आगामी संघीय निर्वाचनमा देशको बलियो शक्ति बन्ने उद्देश्य अनुरुप विभिन्न निर्णय गरेको छ। कात्तिक १५ गते भित्र सबै निर्वाचन बुथमा ‘बुथ कमिटी’ गठन गर्ने, प्रतिनिधिसभा र  प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उममेदवारहरुको नाम जिल्ला कार्य समितिले भदौ २१ गते भित्र प्रदेश कार्य समिति र भदौ २५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने निर्णय भएको छ। 

राप्रपा नेपालले असोजको पहिलो हप्ता वीरगञ्जमा ‘बृहत राष्ट्रिय भेला’, भदौको अन्तिममा ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ आयोजना गर्दैछ। यसैगरी, अध्यक्ष थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ