• २६ वैशाख २०८२, शुक्रबार

संसदमा गणपूरक सङ्ख्या पुग्न छोडेकोप्रति सभामुख सापकोटाको असन्तुष्ट

blog

सङ्घीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटा ।

काठमाडौं, साउन ३० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सोमबार सङ्घीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक सङ्ख्या नपुग्दा मङ्गलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

उहाँले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठ्यारो भइरहेको बताउनुभयो । संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्नेमा उहाँको जोड छ ।

सभामुख सापकोटाले समितिमा दोहोराेपन देखिएको पनि बताउनुभयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्नेभन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयम् समितिले आत्मालोचना गर्नुपर्ने बताउनुभयो ।

देशको धरातलीय यथार्थअनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको उहाँको भनाइ छ । संरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने उहाँले बताउनुभयो ।

सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनुभयो । सङ्घीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा यहाँले जोड दिनुभयो । सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताउनुभयो । उहाँले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनुभयो ।