• ९ मंसिर २०८१, आइतबार

उद्योगमन्त्रीमा सिफारिस हुनुभएका शाहीको शपथ रोकियो

blog

नविन शाही
काँक्रेविहार, साउन २७ गते ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका वीरबहादुर शाहीको शपथ ग्रहण रोकिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिन आदेश गरेपछि शपथ ग्रहण कार्य रोकिएको जानकारी दिनुभयो ।

यसअघि मन्त्री बन्नुभएका गैर सांसद कार्चेन लामाको छ महिनाको अवधि सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि बिहीबार प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्नुभएको थियो ।

आठ सदस्यीय मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व नभएपछि २०७८ माघ अन्तिम साता अधिवक्ता शेरबहादुर खत्री र टिका विष्टद्वारा सरकारले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन नगरेको भन्दै रिट दायर गरिएको थियो । बुधबार उक्त रिट उपर मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्नु भन्दै सरकारका नाममा आदेश जारी गरेको थियो ।