• ६ जेठ २०८३, बुधबार

चन्द्रकोटको ‘चौथो अध्यक्ष कप’ भलिबल सुरु

blog

‘चौथो अध्यक्ष कप’ भलिवल प्रतियोगीता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज केसी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), जेठ ६ गते ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको ‘चौथो अध्यक्ष कप’ भलिवल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गर्नुभयो । उहाँले खेल अनुशासन र पहिचानका हिसाबले निकै महत्वपूर्ण भएकाले बर्सेनी आयोजना गर्दै आएको बताउनुभयो ।

युवाहरुको खेलप्रतिको रुची बढाउने, खेलाडीहरुको प्रतिभा पहिचान र खेल क्षेत्रको विकासका लागि अध्यक्ष कपसहितका अरु प्रतियोगीता सञ्चालन, संरचना निर्माण र प्रोत्साहनमा गाउँपालिकाले काम गरेको केसीले बताउनुभयो । यो प्रतियोगीता वडा स्तरीय रुपमा हुनेछ । पुरुष तर्फ आठ र महिला तर्फ पाँच समूहबिच भलिवल प्रतियोगीता हुने गाउँपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिनुभयो ।

भलिवलमा चन्द्रकोटको छुट्दै पहिचान रहेको छ । गाउँपालिकासहित स्थानीय अरु क्लव तथा संघ–संस्थाहरुले पनि बर्सेनी ठुला राशीका भलिवल प्रतियोगीता गर्ने गरेका छन् । चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेका अनुसार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रतियोगीता सञ्चालन भएको छ ।

पुरुष भलिबल तर्फ बिजेताले ६५ हजार, उपबिजेताले ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था पालिकाले गरेको छ । त्यसैगरी महिला भलिबल प्रतियोगितामा बिजेताले ३५ हजार, उपबिजेताले २५ हजार, तृतीय हुनेले १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत चालिसेले जानकारी दिनुभयो । प्रतियोगीतामा विधागत रुपमा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिब्रो र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।