दैलेख समाचारदाता
दैलेख, जेठ ५ गते । दैलेख र कालीकोटका स्थानीय तहले कर्णालीका दुर्गम जिल्लासम्म सडक पहुँच विस्तार गर्ने उद्देश्यले अधुरो सडकको ट्र्याक निर्माण अगाडि बढाउन संयुक्त पहल थालेका छन् । सङ्घीय सरकारसँग दुर्गम जिल्लाको सडक पहुँच विस्तार गर्न लुम्बिनी प्रदेशको जमुनाह–कोहलपुर हुँदै सुर्खेत, दैलेख, महाबुलेक, कालीकोटको नाग्म हुँदै मुगु र हुम्लाको नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशीय सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।
दैलेखको महाबु लेकसम्म सडक ट्र्याक खुले पनि महाबुदेखि नाग्म खण्डको ट्र्याक निर्माण नगरिएको भन्दै त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको हो । दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका तथा कालीकोटका महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाबिच भएको अन्तरपालिकास्तरीय समन्वय बैठकले सो निर्णय गरेको हो ।
स्थानीय तहले उक्त सडक सञ्चालनमा आए कर्णालीका दुर्गम जिल्लासँगको पहुँच विस्तार हुनुका साथै व्यापार, पर्यटन, स्वास्थ्य सेवा तथा विकास निर्माणका गतिविधिमा सहजता पुग्ने बताएका छन् । बैठकमा दैलेख र कालीकोटको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल महाबुधामको विकास तथा प्रवर्धनका विषयमा पनि छलफल गरिएको थियो । भौगोलिक विकटतालाई दृष्टिगत गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय गरिएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो । उहाँले महाबुधाम क्षेत्रको पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सहभागी स्थानीय तहको सहलगानीमा पर्यटन पूर्वाधार निर्माण अगाडि बढाउने सहमति बैठकले गरेको बताउनुभयो ।
यस्तै दैलेख र कालीकोटको शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपत् व्यवस्थापन तथा विकास निर्माणका विषयमा आपसी समन्वय र सहजीकरण गर्ने निर्णय पनि गरिएको छ । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खननका लागि ड्रिलिङ सम्पन्न भएर अन्तिम प्रतिवेदन सार्वजनिक भइसके पनि सरकारले आवश्यक चासो नदिएको भन्दै उत्खनन कार्य अगाडि बढाउन सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख हुँदै नाग्चेनाग्लासम्म पुग्न सहज र छिटो हुने सडकलाई आवश्यक बजेट विनियोजन गरी दुर्गमको सडक पहुँच पु¥याउने प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले साबिक कर्णाली जोड्ने कर्णाली राजमार्ग निकै लामो हुने हुँदा दैलेखबाट सडक निर्माण भए ८० किलोमिटर दुरी छोटिने बताउनुभयो ।