• १४ वैशाख २०८३, सोमबार

स्वर्गद्वारी नगरपालिकामा सिविआर कार्यक्रम सञ्चालन

blog

सिविआर कार्यक्रमबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्यूठान, वैशाख १४ गते ।
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर) कार्यक्रम सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्यूठानले चालु आर्थिक वर्षदेखि स्वर्गद्वारी नगरपालिकामा नयाँ कार्यक्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालन गरेको हो ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख रामकरण पालले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार समुदायमै पुनर्स्थापना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले अवसर पाएमा उनीहरूले समाजमा योगदान दिन सक्ने भएकाले यसतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रदेशका सबै जिल्लामा सिविआर कार्यक्रमका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

सिविआर कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, जनचेतना, आयआर्जन, सहायक सामग्री, सञ्जालीकरण तथा सशक्तीकरण लगायत क्षेत्रमा काम गरिने राष्ट्रिय अपाङ्ग सेवा सङ्घका कार्यकारी निर्देशक जुमानसिंह केसीले बताउनुभयो । नगरपालिकामा उपप्रमुख मिनराज रानाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिविआर जिल्ला अनुगमन तथा व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख धरमबहादुर जिसीका अनुसार यस वर्ष कार्यक्रम सञ्चालनका लागि स्वर्गद्वारी नगरपालिका छनोट गरिएको हो । प्रत्येक वर्ष नयाँ कार्यक्षेत्र छनोट गर्दै कार्यक्रम विस्तार गरिँदै आएको उहाँले बताउनुभयो ।

यसअघि जिल्लाका मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकामा सिविआर कार्यक्रम सञ्चालन गरिएको थियो ।