• १३ साउन २०८१, आइतबार

‘वामपन्थी र समाजवादीको एउटै मोर्चा बनाएर चुनावमा जानुपर्छ’

blog

फाइल तस्बिर

काठमाडौं, साउन ८ गते। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ। 

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको बताउनुभएको हो। 

छलफलको क्रम जारी रहेको खनालको भनाइ छ। उहाँले देशको आवश्यकता वामपन्थी शक्ति एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताउनुभयो। 

खनालले भन्नुभयो, ‘‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ। छलफल जारी छ। हामी यो देशका वामपन्थी र समाजवादी पार्टी समूह एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाने भन्ने विषयमा सल्लाह गर्दैछौँ। आवश्यकताको दृष्टिले सबै वामपन्थी एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो। कतिपय समूह तयार छैनन्। तर, चुनावका लागि सम्मानजनक ढंगले सहमति आवश्यक छ।’’ 

उहाँले तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको बताउनुभयो। वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको उहाँको भनाइ छ।