• २ चैत २०८२, सोमबार

कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार निर्मम हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उपभोक्ता हितविपरीत कालोबजारी, सिन्डिकेट र कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार निर्मम हुने बताउनुभएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले कालोबजारी, कृत्रिम अभाव र सिन्डिकेट जस्ता कानुनविपरीतका कार्यमा सरकार निर्मम भएर प्रस्तुत हुने बताउनुभएको हो । 

स्वच्छ, स्वस्थ व्यवसाय गर्नेका लागि सरकार अभिभावकका रूपमा रहने भन्दै मन्त्री सिन्हाले उपभोक्ता हितविपरीत हुने गरी कसैले काम गर्नेलाई कानुन अनुसार हदैसम्म कारबाही गर्ने चेतावनी दिनुभयो । बजारलाई स्वच्छ र प्रतिस्पर्धी गराउन सरकारले हाल गर्दै आएको प्रयास पर्याप्त नभएको भन्दै उहाँले बजार अनुगमन प्रचारमुखी नभई वस्तुनिष्ठ भई उपभोक्ताले प्रत्यक्ष महसुस गर्ने खालको हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले उपभोक्ता संरक्षण ऐनले गरेका सबै व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा लैजान केही चुनौती रहेको बताउनुभयो । कतिपय अवस्थामा कानुनी र संरचनागत सीमितता र क्षमताको सीमितता रहेको भन्दै उहाँले सीमितताबिच विभागले वार्षिक रूपमा चार हजारभन्दा बढी बजार अनुगमन गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र दोसी व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने काम निरन्तर गरेको बताउनुभयो । नेपालको संविधानले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरेको छ । यस्तै वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति हुने व्यवस्था छ ।

मौलिक हक यस्तो भए पनि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन भन्ने नारासहित अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विश्वभर मनाइँदै गर्दा नेपाली उपभोक्ता भने आधा सिलिन्डर ग्यासका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता छ । 

दैनिक उपभोग्य खानेतेल, चामल, आँटा, दलहनलगायतका वस्तुको पनि मूल्य अस्वाभाविक रूपमा महँगीको मारमा छन् । 

नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरिरहँदा बजारमा अभाव कायमै छ । बजारमा नयाँ किन्नेका लागि महँगो तिर्दा पाइने तर साट्न सहज नहुने समस्या झनै जटिल बनेको छ । आधा सिलिन्डरको मूल्य ९५५ रुपियाँ निगमले तोकेको छ ।