जाडोपछि गर्मी बढ्दै छ । खानपान तथा जीवनशैली स्वास्थ्यमैत्री छैनन् । यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिएको छ । उच्च गर्मी, लुलाई संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयले जलवायुजन्य विपत् मानेको छ । नेपालकै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि यसलाई विपत्का रूपमा उल्लेख गरेको छ । पहाडमा पनि गर्मी उखरमाउलो हुन्छ । गर्मीसँगै रोग बढ्दै छन् । गर्मीमा जोखिम वर्ग ससाना बालबालिका, प्रौढ, दीर्घरोगी, हृदय रोगी, मानसिक रोगीले बढी सतर्कता अपनाउनु पर्छ, नत्र ज्यानै जान सक्छ ।
गर्मीमा पकाइएको खाद्यवस्तु केही घण्टामै कुहिन्छन् । बेस्वाद र बेरङ हुन्छन् । किनभने गर्मीमा सूक्ष्म जीव छिटो र बढी सक्रिय हुन्छन् । तीव्र विषाक्त हुन्छन् । यो बेलाका सरुवा रोग केही श्वासप्रश्वास र धेरै जसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । श्वासप्रश्वास प्रणाली नाकदेखि फोक्सोसम्म तथा पाचन प्रणाली खाने मुखबाट सुरु भई मलद्वारसम्म पर्छ । किटाणुको सङ्व्रmमण जति तल वा फोक्सोतिर भयो त्यति नै जोखिम हुन्छ । नाकमा सङ्क्रमण भए साधारण रुघाखोकी त फोक्सोमा सङ्क्रमण भए निमोनिया, छातीको सङ्क्रमण भई ज्वरो, खोकी, सेतो वा पहेँलो खकार, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । गर्मी मौसममा धेरै जसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पु¥याउ“छ ।
अत्यधिक गर्मी भएर शरीरमा तापक्रम बढ्दा पसिना धेरै आउनाले नुनको मात्रा घट्दै जाने, मुटुको चाल परिवर्तन हुने, श्वासप्रश्वासमा समस्या देखिने, शरीरबाट पसिना ननिस्कने, रक्तचापमा समस्या हुने, टाउको अत्यधिक दुख्ने, रिँगटा लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिन सक्छन् । यसै गरी पिसाब कम तथा गाढा पहेँलो हुन्छ । रक्तचाप कम भई बेहोस हुने, दिमाग सुन्निने, पक्षाघात, कोमामा जाने पनि हुन सक्छ । औषधीको प्रभावमा कमी, विभिन्न रोगको जोखिम बढ्छ । शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट बढीमा रहने, छाला तातो, सुक्खा र रातो हुने गर्छ । शरीरको तापक्रम सन्तुलन गर्ने प्रक्रिया कमजोर हुन्छ ।
उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यले दैनिक पानीको मात्रा सेवन फरक परे पनि औसतमा दुईदेखि तीन लिटर पानी पिउन जरुरी छ । पानीको कमी हुँदा मुख सुक्खा हुने, बान्ता हुने, ज्वरो आउने, पेटको समस्या देखिन सक्छ । तिर्खा लाग्छ, पिसाब पहेँलो हुन्छ । डिहाइड्रेसन, मुड परिवर्तन, अत्यधिक गर्मी महसुस, कब्जियत, रक्तचापमा कमी, छालासम्बन्धी समस्या, जोर्नीमा समस्या, पाचनसम्बन्धी समस्या, टाउको दुख्ने र किड्नीमा समस्या देखिन सक्छ । यस्तै मौसम परिवर्तन, चुनावसँगै मानिसको भिडभाड र आहोरदोहोरका कारण सरुवा रोग मौसमी रुघाखोकी, ज्वरो, खोकी र श्वासप्रश्वास रोग बढ्न सक्छन् । त्यसै पनि फागुन १५ देखि चैत १५ मौसमी रुघाखोकी देखिने उच्चतम समय हो ।
तातो हावा अर्थात् लु
जल तथा मौसम विज्ञान विभागले कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतभन्दा बढी हुँदा तातो दिन (माइल्ड लु), ९५ प्रतिशत हुँदा धेरै तातो दिन (मोडरेट लु) र ९९ प्रतिशतभन्दा धेरै हुँदा अत्यधिक तातो दिन (लु) मान्ने गरेको छ । अत्यधिक गर्मीमा वायुमण्डलले तातो हावा फ्याँक्छ, जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको मात्रा कम हुने र अङ्गहरूले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने समस्या हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउनु पर्छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, यदि निस्कनै परेमा छाताको प्रयोग गर्नु पर्छ । पानीको बोतल साथैमा राखी पटक पटक पानी पिउनु पर्छ । खानामा साकाहारी खानेकुरा, झोल पदार्थ, फलफूल प्रशस्त मात्रामा खानु पर्छ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन ।
हिट स्ट्रोक
उच्च तापक्रममा मांशपेसी रूग्ण हुन्छन् । कलेजोमा असर परी रक्तग्लुकोज कम हुन्छ । चाँडो चाँडो सास फेर्ने, मुटु तीव्र गतिले चल्ने, फोक्सोमा तरल पदार्थ जम्ने र सास फेर्न अप्ठ्यारो हुने, अवाञ्छित मुटुको चालका कारण समयमै उपचार नभए मृत्यृ हुन सक्छ । रगतमा अम्लपना बढी क्याल्सियमको सक्रियतामा कमी भई टेटानी, रिकेट हुन सक्छ । तातोपनले निस्केको पसिना बाहिर आउन नसक्दा छालामा चिलाउने मसिना डाबर आउँछ । जमेको पसिनाले सङ्क्रमण भई चर्मरोग लाग्छ । गर्मीले हातगोडामा सुजन, रक्तचाप कम, अचानक मस्तिष्कमा रक्तसञ्चार कम भई बेहोस हुन सक्छ । गर्मीमा वृद्ध तथा दीर्घरोगीको शारीरिक तापक्रम नियन्त्रण गर्ने मस्तिष्कको हाइपोथालामसले राम्रो काम गर्न नसक्दा तापक्रम बढ्न गई बाह्य तापक्रमले नराम्रो प्रभाव पारी ज्यानै जान सक्छ, जसलाई ‘हिट स्ट्रोक’ भनिन्छ । भर्खरै भर्ना भएका सिपाही, पहलमान घाममा ज्यादा परिश्रम गर्ने युवालाई हिट स्ट्रोक हुन सक्छ । शरीरभित्र तापक्रम बढेपछि स्वचालित स्नायुहरूले छालामा रक्तसञ्चार बढाउने, पसिना काड्न लगाउँछन् । पसिना बाफमा परिणत हुँदा तापक्रम कम हुन्छ । तर बाहिरको तापक्रम शरीरको भन्दा बढी भए शरीरको तापक्रम बाहिर निस्कन सक्दैन । मस्तिष्कले शरीरको तापक्रम नियन्त्रण गर्न छाडिसकेपछि शरीरको तापक्रम बढ्दै १०८ डिग्री फरेनहाइटभन्दा ज्यादा भएपछि दहनक्रियामा मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छन् । रगतमा विषाक्तता जम्मा भई सबै अङग रूग्ण हुन थाल्छन् । वैज्ञानिकहरूको अध्ययनमा हिट स्ट्रोक हुँदा २१.६३ प्रतिशतको मृत्यृ भएको पाइएको छ । सबैभन्दा पहिलो र जरुरी उपचार भनेको बिरामीको निधारमा चिसो पानीको पट्टी राख्नु पर्छ ।
तातो हावा परियोजना
४२ डिग्रीभन्दा बढी तापक्रम पुगेर अत्यधिक गर्मीको सामना गरिरहेका बाँके र बर्दियामा विपन्न वर्ग विशेषतः अपाङ्गता भएका, दलित, सीमान्तकृत, विपन्न, एकल महिला परिवार, गर्भवती, दुध चुसाउने आमालाई तातो हावा (लु) को असरबाट जोगाउन नेपालगन्ज उपमहानगरपालिका, खजुरा र नरैना गाउँपालिका तथा बर्दियाको गुलरिया नगरपालिकाका तातो हावा परियोजना छन् । यस अन्तर्गत बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान, खाद्यान्न सहयोग, गम्छा, औषधी, झुल, चप्पल उपलब्ध गराउनुका साथै सामाजिक सचेतना फैलाउने गरिएको छ ।
कसरी बच्ने ?
अत्यधिक तातो हावाबाट बच्न चिसो पेय पदार्थभन्दा प्रशस्त पानी पिउनु पर्छ । धेरै घाममा हिँड्नु हुँदैन । भान्सामा धेरै समय काम गर्नु हुँदैन । मदिरा, धूमपान सेवन गर्नु हुँदैन । क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेयपदार्थ पिउन हुँदैन । घाममा हिँड्दा छाता वा पातलो कपडाले टाउको छोप्नु पर्छ । हल्का, पातला सुतीका कपडा लगाउनु पर्छ । चिसो पानीले नुहाउने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउनु पर्छ । फलफूललगायत ताजा खानेकुरा खानु पर्छ । पटक पटक जीवनजल पिउनु पर्छ । चिसो पेयपदार्थमा चिनीको मात्रा बढी हुने भएकाले थप सुक्खापन ल्याउँछ ।
दुई वर्षभन्दामुनिका बालबालिकालाई गर्मी तथा लुबाट जोगाउन स्तनपान गरिरहेकालाई नियमित स्तनपान गराउने, ठोस खानेकुराका साथै झोल कुरा प्रशस्त खुवाउने, घरमै बनाएका स्वस्थकर खानेकुरा खुवाउने, पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो गरी लगाइदिने गर्नु पर्छ । घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने वा नहिँड्ने, शीतलमा बस्नु पर्छ । मौसमी तथा ताजा फलफूल राम्ररी धोई पखाली खुवाउनु पर्छ । यदि बालबालिकामा उच्च ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने वा बेहोस भएमा तत्कालै चिकित्सककहाँ लानु पर्छ ।
स्वास्थ्यकर्मी र आकस्मिक सेवामा रहेकाहरू पनि यतिखेर निर्वाचनमा खटिएका छन् । उनीहरूले स्वास्थ्यसम्बन्धी कुनै समस्या निर्वाचनका क्रममा भएमा अस्पतालसँग समन्वय नै गर्लान् । मन्त्रालयले आफ्ना हब तथा स्याटलाइट अस्पताल, आकस्मिक संरचना– इडिसिडी, अस्पतालका आकस्मिक जनशक्ति, विभाग, सङ्घीय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र, द्रुत प्रतिकार्य र मेडिकल टोली, एम्बुलेन्स सेवालगायत कार्य चौबिसै घण्टा सञ्चालनमा रहने गरी तयारी गरेको छ ।
गर्मी तथा वर्षायाममा विभिन्न किसिमका रोग लाग्न सक्ने भएकाले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हुन्छ । जुनसुकै उमेर र वर्गका मानिसले स्वास्थ्यप्रति सचेत भई खानपान, जीवनशैली स्वास्थ्यमैत्री बनाउनु पर्छ । भिडभाडमा नजाने, मास्क लगाउने, जोखिम वर्गलाई जोगाउने, साबुनपानीले पटक पटक हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिन जरुरी छ । भोजनमा सतर्कता, सफा शुद्ध खाना, उमालेको पानीको प्रयोग गर्नुु पर्छ । बासी सडेगलेका, बढी मसलायुक्त, चिल्लोपिरो र अपच हुने खाना खानु हु“दैन । खाना तयार भएपछि बढीमा दुई घण्टाभित्र खाइसक्नु पर्छ । घर तथा वरिपरिको वातावरण सफा र स्वास्थ्यमैत्री राख्नु पर्छ ।