गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १४ गते । निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भइरहेका राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने साझा प्रतिबद्धता अघि सारेका छन् ।
आगामी बिहीबार हुने गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले जनतासमक्ष लगेका प्रमुख वाचामध्ये पर्यटन र नागरिक उड्डयन क्षेत्रमा आर्थिक रूपान्तरण गर्ने साझा एजेन्डा अघि सारेका हुन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक दलले जारी गरेका प्रतिबद्धतामा सबैले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका कूटनीतिक र प्राविधिक जटिलताको समाधान गरी विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने, हवाईसेवा विस्तार र नयाँ हवाई रुट विस्तार, पर्यटन पूर्वाधार विकास, पर्यटनमा आधारित उद्योगमा मर्यादित रोजगारीसँगै नेपाललाई युरोपेली सङ्घको कालो सूचीबाट हटाउनेलगायतका वाचा अघि सारेका छन् ।नेपाली कांग्रेसले पर्यटन पूर्वाधारको व्यवस्थापनको कमजोरीलाई सुधार्ने, हवाई भाडादरलाई प्रतिस्पर्धी बनाउने, युरोपेली सङ्घको हवाई सुरक्षा प्रतिबन्धबाट नेपाललाई हटाउन पहल गर्ने, उड्डयन नियामक निकायलाई स्वायत्त निकायमा विभाजन, पर्यटन यात्रालाई झन्झटिलो, सुलभ हवाई भाडालगायत सुरक्षित र किफायती हवाईसेवा उपलब्ध गराउने प्रतिबद्धता मतदातासमक्ष गरेको छ । कांग्रेसले पर्यटन क्षेत्रको योगदानलाई कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत पु¥याउने, १० वर्षमा वार्षिक ३० लाख पर्यटक भित्र्याउने आधार अघि सारेको छ ।
नेकपा (एमाले) ले पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्धन, हवाईसेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने प्रतिबद्धता घरदैलोमा लगेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटकको सुरक्षा, पर्यटन सेवाको गुणस्तर, पर्यटकको बसाइ लम्ब्याउने लक्ष्यसहित अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउने, अन्तर्राष्ट्रिय उडान सेवाप्रदायकसँग सहकार्य बढाउने, आन्तरिक हवाईसेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने, भिसा तथा आन्तरिक उडान भाडादरमा पुनरवलोकन गर्ने, पर्यटन उद्योगमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्नेलगायतका वाचा मतदातासमक्ष लगेको छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले कृषि, पर्यटन, सूचना प्रविधि तथा कृषिमा आधारित उद्योगमा सामूहिक सहकारी मोडेलबाट आगामी पाँच वर्षमा १५ लाख मर्यादित रोजगारी सिर्जना गर्ने, नेपाललाई सुरक्षित र पहुँचयोग्य पर्यटन गन्तव्य बनाउने, स्वदेशमै लगानी प्रवर्धन गर्ने, निजी क्षेत्रसँग राज्यको सहकार्य सुनिश्चित गर्ने र हरेक नगरपालिकामा पर्यटन प्रोफाइल तयार गर्ने लक्ष्य अघि सारेको छ । नेकपाले पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय उडान विस्तार र नेपाली जहाजमाथिको युरोपेली प्रतिबन्ध हटाउने प्रतिबद्धता आममतदातासमक्ष गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले संरचनागत सुधारमार्फत प्रतिस्पर्धी पर्यटन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गर्ने, पाँच वर्षभित्र पर्यटक आगमन र प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य उक्त दलको छ । रास्वपाले पनि पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विभिन्न सेवा सुविधामा छुट दिने, आठ हजार फिटमाथि उचाइ भएका हिमाल आरोहण गर्न मापदण्ड तोक्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको योजना अघि बढाउनेलगायतका लक्ष्य अघि सारेको छ ।
त्यस्तै गरी राप्रपाले प्राकृतिक, धार्मिक र आरोग्य पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने एजेन्डा अघि सारेको छ । पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै पदयात्रा अनुमति प्रणाली सरल बनाउने र वैकल्पिक ट्रेकिङ रुट विकास गर्ने, धार्मिक पर्यटनको प्रवर्धन र नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने मतदातासमक्ष प्रतिबद्धता जनाएको छ ।