• २६ पुस २०८१, शुक्रबार

मनसुनका सौन्दर्य भ्यागुता (फोटोफिचर)

blog

पानी परेपछि धनगढीमा देखिएका भ्यागुता। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ३२ गते। मनसुन पानी पर्ने समय। तर, मनसुनमा कुन दिन पानी पर्छ भन्ने कुरा यत्तिकै ठ्याक्कै भन्न सकिँदैन। मौसमविद्ले वर्षाबारे पूर्वानुमानसहितको जानकारी दिने गर्छन्। तर, मौसमविद्बारे जानकारीसमेत नभएका हाम्रा किसानको सम्भावित वर्षाबारे थाहा पाउने तरिका भने फरक छ। 

जब खेतमा ट्वाँर-ट्वाँर भ्यागुता कराउँछन् तब पानी पर्ने गरेको गाउँघरमा अडकलबाजी हुँदै आएको छ। ‘पानी पर्ने जस्तो भएमा भ्यागुता कराउन थाल्दछन्’, कैलारी गाउँपालिका-७ का रामदिन चौधरीले भन्नुभयो। ‘भ्यागुता कराएर पानी माग्ने गरेको हामीले विश्वास गर्दै आएका छौं’, आफ्ना पूर्खाहरुले यही विश्वासका साथ भ्यागुता कराएको बेला खेतीपातीको काम गर्ने गरेको उहाँले बताउनुभयो। 

भ्यागुता कराएमा पानी पर्ने विश्वासकै कारण थारु समुदायका व्यक्तिले लामो खडेरी भएमा भ्यागुता बनेर हिलोपानीमा खेल्ने र कराउने गरेका छन्। आँगनमा पानी फालेर भ्यागुताझैँ उफ्री-उफ्री त्यसमा खेल्ने गरेको चौधरीले बताउनुभयो। ‘त्यस्तो गरेमा पानी पर्छ भन्ने मान्यता छ’, उहाँले भन्नुभयो। 



गाउँघरका मान्छेलाई सूचना, प्रविधिबारे धेरै ज्ञान छैन। उनीहरु आधुनिक र वैज्ञानिक तरिकाको सूचना हेर्दैनन्। बरु, भ्यागुता कराएमा अडकलबाजी गर्दै आएका छन्। संरक्षणकर्मी विजयराज श्रेष्ठले पनि भ्यागुता कराएमा पानी पर्ने गरेको विश्वास गाउँघरमा गरिदैं आइएको बताउनुभयो। ‘भ्यागुता कराउनु भनेको उसले पानी माँगेको हो भन्ने कुरा गाउँघरमा हाम्रा पूर्खाले विश्वास गर्छन्’, उहाँले भन्नुभयो। ‘भ्यागुता मान्छेको जस्तो खुट्टाको बनावट भएको उभयचर हो।’ 

भ्यागुता धेरै जसो समय माटोभित्र लुकेर सुसुप्त बस्ने गर्दछन्। पानी परेपछिमात्रै बाहिर देखिन्छन्। वर्षा याममा बाहिर बस्ने र बाँकी समय जमिनमुनी लुक्ने भ्यागुता पानी परेपछि खेत, मैदान, ताललैयामा छरपस्टै देखिने गरेका छन्। भ्यागुताका आवाज र दृश्यले जो कोहीको मनै लोभ्याउने गर्दछ। 

पानी परेको बेला देखिने भ्यागुताको अवस्था नेपालमा राम्रो रहेको प्राणीविद् करन शाहले बताउनुभयो। ‘यस्ता भ्यागुता नेपालका लागि सामान्य हुन’, उहाँले भन्नुभयो।

नेपालमा ५५ प्रजातिका भ्यागुता पाइने गरेको बताइन्छ। मनसुनमा भ्यागुता धेरैजसो प्रजननका लागि टाँसिएर बसेका देखिन्छन्। वयस्क पोथीको पेटमा रहेको फुल थिचेर निकाल्नका लागि भाले भ्यागुतासँगै बस्ने गर्छन्। पोथीले फुल निकाल्ने बित्तिकै भालेले शुक्रकिट छार्ने गरेको बताइएको छ।