• २१ मङ्सिर २०८२, आइतबार

‘साना व्यवसायी अर्थतन्त्रका थोपा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले खुद्रा तथा साना व्यवसायीका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएको छ । नेपाल खुद्रा व्यापार सङ्घको ४६ औँ साधारण सभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले साना व्यवसायी अर्थतन्त्रको थोपा भएकाले डन्डा चलाएर नभई सचेतना जगाएर बजार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । वाणिज्य विभागले अनुगमनका नाममा साना व्यवसायीलाई मात्र निसाना बनाउने र तर्साउने गरेको गुनासो आफूकहाँ आएकाले आगामी दिनमा यस प्रकारको प्रवृत्ति दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले साना व्यवसायीलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने अनिवार्य सीमा (थ्रेसहोल्ड) बढाउन सरकारलाई सुझाव दिनुभयो । हालको ३० लाखको सीमा व्यावहारिक नभएको भन्दै उहाँले यसलाई बढाएर ५० लाख पु¥याउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो । 

खुला सिमानाका कारण दैनिक ८० करोड रुपियाँ बराबरको सामान भन्सार नतिरी भित्रिने गरेकाले व्यवसायी मर्कामा परेको उहाँको भनाइ थियो । बजार अनुगमनका क्रममा म्याद नाघेका सामान भेटिँदा साना खुद्रा व्यापारीलाई मात्र दोषी देखाइनु गलत भएको उहाँले बताउनुभयो । “म्याद नाघेका सामानको मुख्य दोषी उत्पादक वा आयातकर्ता हुनु पर्छ, साना पसले होइन । यस विषयमा सरकारले नीतिगत सुधार गर्नु पर्छ,” उहाँले भन्नुभयो ।  कार्यक्रममा साना तथा खुद्रा व्यापारीले आफूहरू उत्पादक र सरकारको दोहोरो चेपुवामा परेको गुनासो गरेका छन् । ठुला व्यापारी तथा उद्योगीले कमसल सामान उत्पादन गरेर खुद्रा व्यापारीमार्फत बिक्री गराउने र सरकारले कमसल सामानको नाममा कारबाही गर्ने दोहोरो चेपुवामा परेर पनि सेवा दिनु परेको उनीहरूको भनाइ छ । 

सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले ‘उपभोक्ता हित संरक्षण ऐन’ साना व्यापारीलाई मात्र तर्साउने हतियार बनेकाले उत्पादक र आयातकर्तालाई सजाय गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । कुनै सामानको म्याद सकिएको भेटिएमा साना व्यापारीलाई तीन लाख रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था व्यावहारिक नभएको उहाँको भनाइ थियो । सरकारले ठुला डिपार्टमेन्ट स्टोर र मार्टलाई मात्र महत्व दिएकोप्रति उहाँको असन्तुष्टि थियो । “जनआन्दोलन, नाकाबन्दी, भूकम्प र कोभिड जस्ता सङ्कटमा ठुला मार्ट बन्द हुँदा पनि हामी साना व्यापारीले ज्यान जोखिममा राखेर पसल खोल्यौँ र जनताको भोक मेटाउने काम ग¥यौँ तर सरकारले हामीलाई सधैँ हेयको दृष्टिकोणले हेर्छ,” उहाँले भन्नुभयो ।