• २१ मङ्सिर २०८२, आइतबार

स्थानीयले बन्द गराए तातोपानी नाका

blog

इको पहिरोपीडितले तत्काल तातोपानी नाका सडक स्तरोन्नति गर्न माग गर्दै राखेको ब्यानर ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, मङ्सिर २१ गते । कोदारी सडकखण्ड स्तरोन्नतिको काम अघि नबढेपछि स्थानीयले तातोपानी नाका बन्द गराएका छन् । सडक विभागले कात्तिक मसान्तसम्म ठेक्का खुलाएर तातोपानी नाका सडक अन्तर्गतको पहिरो क्षेत्रमा सडक स्तरोन्नति गर्ने सम्झौता गरे पनि त्यसो हुन नसकेपछि स्थानीयले नाका बन्द गरेका हुन् । गत असोज २ गते सडक विभागका महानिर्देशक विजय जैसी, सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, सिन्धुपाल्चोकका सुरक्षा निकायका प्रमुख, भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठ र स्थानीय पहिरोपीडितबिच इको पहिरो क्षेत्र कोदारी सडकखण्डलाई स्तरोन्नतिका लागि कात्तिक मसान्तसम्म ठेक्का खुलाएर सडक स्तरोन्नति गर्ने सम्झौता भएको थियो । 

सम्झौता अनुसारको एक महिना पूरा हुन लाग्दा समेत ठेक्का आह्वान नगरेको, इको पहिरोले कोदारी सडकखण्ड र त्यसमाथिका घना बस्तीमा जोखिम भइरहेकाले स्थानीय आन्दोलनमा उत्रेको भोटेकोशी गाउँपालिका–२, का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक विभागले असोज २ गते भएको सम्झौतामा कोदारी सडकखण्डको इको पहिरो दीर्घकालीन नियन्त्रणका लागि कात्तिक मसान्तसम्म टेन्डर खुलाएर कोदारी सडक र इको पहिरो नियन्त्रण गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार सडक स्तरोन्नति नगरेपछि, पहिरोमाथिको बस्ती संरक्षणमा काम नगरेको भन्दै स्थानीय सरकारविरुद्ध आन्दोलनमा उत्रेका हुन् । 

तातोपानी नाकाबाट  वार्षिक अर्बौं रुपियाँ राजस्व सङ्कलन हुने भए पनि सो क्षेत्रकै सडक स्तरोन्नति नगर्दा नाका र नाकावासीले कष्टकर जीवन भाग्नु परेको  वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय सडक र पहिरो प्रभावितले नाकास्थित कोदारी सडक पूर्ण रूपमा बन्द गर्दा दुईपाङ्ग्रे, चारपाङ्ग्रे्रे तथा मालवस्तु बोकेका साधन ठप्प रहेको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिका–२ का १० किलो, कोप्लाङ, घट्टेखोला, कोदारीस्थित इको पहिरो क्षेत्र, लिपिङलगायत स्थानीयले नाका सडक कोदारीखण्डमा विभिन्न प्लेकार्ड र नारा लगाउँदै प्रदर्शन गरेका छन् । असोज २ गते भएको सम्झौता तत्काल कार्यान्वयन नगरेसम्म नाका सडक अनिश्चितकालसम्म पूर्ण बन्द गरिने अध्यक्ष श्रेष्ठले चेतावनी दिनुभएको छ ।