• २० मङ्सिर २०८२, शनिबार

नागार्जुनमा मर्फिनको चर्चा

blog

कार्यक्रममा प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षित, डा लेखराज खतिवडा, लक्ष्मण अधिकारी र डम्बर पहाडीलाई सम्मान गरिँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौं, मङ्सिर २० गते । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको मर्फिन कथासङ्ग्रहमाथि चर्चा गरिएको छ ।

समालोचक डा लेखराज खतिवडाले कथा मर्फिनले नेपाली चिकित्सा क्षेत्रका समग्र पक्षलाई उधिन्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष दील पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा १९ कविले कविता, लघुकथा, गजल वाचन गर्नुभएको थियो । कवि डम्बर पहाडीको एलाक (एक लाइने कविता) लाई उपस्थित स्रोताले खुवै रूचाएका थिए ।  वाचन गरिएको कवितामाथि प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षितले समीक्षा गर्नुभएको थियो । उहाँले गोष्ठीमा प्रस्तुत कविताले समसामयिकतालाई बढी प्राथमिकता दिएको चर्चा  गर्दै कविले अन्यका रचना बढीभन्दा बढी पढ्नुपर्ने, लेखनलाई निरन्तरता दिदै आफ्नो लेखनलाई परिस्कृत गर्दै जानुपर्ने बताउनुभयो ।

रचना वाचन कार्यक्रममा कवि पूर्ण बिरामका दुई  कविता अन्य कविले वाचन गर्नुभएको थियो । 

कार्यक्रममा मर्फिनका कथाकार लक्ष्मण अधिकारीले पत्रकारिताका क्रममा प्राप्त सूचना सामग्रीलाई कथात्मक बनाउने क्रममा नै कथा लेखन थालिएको र सोही क्रममा मर्फिन कथासङ्ग्रह प्रकाशन भएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षित, डा लेखराज खतिवडा, लक्ष्मण अधिकारी र डम्बर पहाडीलाई सम्मान गरिएको थियो ।