हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २० गते । चिसो ह्वात्तै बढेसँगै उपल्लो मुस्ताङमा खोला, खानेपानीको धारासँगै बाटोमा पानी जमेको छ । बिहान र बेलुकीको समयमा अत्याधिक चिसोले धाराको पानी जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी खानुपर्ने अवस्था देखिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण साना खोला, कुवा, खानेपानी धारा, सिँचाइ कुलोका साथै घरका ट्याङ्की बरफ बनेर जमेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय तथा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ क्षेत्रमा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा झरेको भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले बताउनुभयो ।
भन्सार कार्यालयका सूचना अधिकारी सिंहले भन्नुभयो,‘‘हिउँ पगालेर पानी उपयोग गर्न थालेका छौं, दिउँसो घाम लागेको बेलामा केही राहत हुन्छ ।’’
भन्सार कार्यालय नजिकै बग्ने खोलासँगै सडकमा समेत जमेर बरफ भएपछि सवारी साधन र पदैलयात्रीलाई समेत आवतजावतमा सास्ती हुने गरेको छ । उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १२ देखि १५ डिग्री सेल्सियस पुग्न थालेपछि बिस्तारै गाउँ सुनसान हुन थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार मङ्सिर महिनाको अन्तिमसम्म उपल्लो क्षेत्रबाट धेरै बेसी झर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको सञ्चार शाखाका अनुसार कोरलाबाट चिनियाँ बजारमा गएर व्यापार गरी ६४ जना फर्किएका छन् । यसैबिच बेनी–जोमसोम सडकखण्ड अन्तरगत घाँसाबाट दुई हजार चार जना प्रवेश गरेकोमा २९ सय ७३ जना बाहिरिएका छन् । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा २७ सय ५० जनाले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।












