नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २० गते। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एन्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका–९ का शेखर खड्का र सुगम खड्काले क्याफे सञ्चालनमा ल्याउनु भएको हो ।
बागलुङ नगरपालिका–२ मा स्थापना भएको उक्त क्याफे शुभारम्भ भएको छ । उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष राजन शाक्यले क्याफेको उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै अध्यक्ष शाक्यले अवसर आफ्नै वरपर रहेको भन्दै विदेश जानु नपर्ने बताउनुभयो ।
व्यापार व्यवसाय गर्दा परम्परागतभन्दा पनि नयाँ शैलीमा गर्न सकियो भने राम्रो हुने उहाँको भनाइ छ । अध्यक्ष शाक्यले आयातलाई भन्दा बढी स्थानीय उत्पादनलाई महत्त्व दिनुपर्नेमा जोड दिनुभएको थियो।
क्याफेमा कफी, खाना र म्युजिक एकै साथ स्वादन गर्न सकिन्छ । बागलुङ बजारमा फरक परिकार र स्वाद पस्कनेगरी क्याफे सञ्चालन गरेको सञ्चालक शेखर खड्काले बताउनुभयो । उहाँले युवालाई रोजगारसमेत दिने बताउनुभयो । अहिले १० जनालाई काम गर्ने अवसर दिएको सञ्चालक खड्काको भनाइ छ ।
पछिल्लो समय बागलुङ बजारमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउने क्रम बढ्दो छ । बेम्बो क्याफे एण्ड किचनले अर्गानिक परिकारलाई प्राथमिकता दिने खड्काले बताउनुभयो ।