सिराज खान
नेपालगन्ज, मङ्सिर २० गते । पश्चिम नेपालको नेपाल–भारत सीमानासँग जोडिएको बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८० नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्रकुमार साहका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा ८ हजार ६९७ जनामा गरिएको परीक्षणमा ८० जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका हुन् ।
सो अवधिमा ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (पिएमटिसिटी) कार्यक्रम अन्तर्गत बाँकेमा २८ हजार २३४ गर्भवती आमाको एचआइभी परीक्षण गरिए पनि कुनै नयाँ सङ्क्रमित नदेखिएको फोकल पर्सन साहले बताउनुभयो ।
भेरी अस्पतालमा हाल ६१३ जना एचआइभी सङ्क्रमितहरूले नियमित रूपमा एआरटी सेवा लिइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार एचआइभी नियन्त्रणका लागि स्थानीय सरकारले अझ संवेदनशील र जिम्मेवारीपूर्वक अघि बढ्न आवश्यक रहेको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, जेलमा रहेका कैदीहरू, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू र रोजगारीका लागि विदेश जानेहरू पर्दछन् । यीमध्ये सुईद्वारा लागु पदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अन्य जोखिम समूहभन्दा उच्च रहेको पाइएको छ ।