• १७ मङ्सिर २०८२, बुधबार

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ’

blog

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिर : सुजन गुरुङ

काठमाडौँ,  मङ्सिर  १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। 

अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मूल समारोह समितिले बुधबार भृकुटीमण्डप परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गतामैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले अपाङ्गता भएका व्यक्तिहरुको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघि राजनीतिक दलका नेताहरुले गर्छु भने गरेनन् । तर, म गर्छु भन्दिन गरिसकेपछि गर्‍याैं है भनेर भनौंला । हाम्रो देशमा गर्छु भन्ने रोग छ ।”

सञ्चारमन्त्री खरेलले सरकारको तर्फबाट निर्देशिका कार्यान्वयन ल्याउने र कम्तिमा सानो रुपमा भए पनि गम्भीर रुपमा अपाङ्गता भएका नेपाली दाजुभाइ दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पर्नुभयो । मन्त्री खरेलले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदहरुको अन्त्य गर्न सरकार प्रतिबद्धतासाथ लाग्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले सप्रधानमन्त्री सुशीला कार्कीले पनि दिवसको अवसरमा शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिहरुको साथमा रहेको जानकारी गराई सक्नुभएकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागत रुपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। 

‘निर्वाचनको वातावरण बनिसकेको छ ।’

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “सरकारको ६ महिने अवधिको मुख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्नेछ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ । निर्वाचनसँगै सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ ।” महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गमैत्री संरचना र नीतिगत सुधारका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय अपाङ्ग कोषको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ ।

प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरियो । 

खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सरोकार भएका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधि सहभागी थिए ।