• ७ मंसिर २०८२, आइतबार

राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए ६ हजार मतदाता

blog

जिल्ला निर्वाचनको कार्यालय स्याङ्जा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) मङ्सिर ७ गते ।
सरकारले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा नै स्याङ्जामा ६ हजारभन्दा धेरै मतदाता थपिएका छन् ।

यही असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्म परिचयपत्रमार्फत ६ हजार तीन सय ८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधीमा जिल्लामा ८ हजार २२५ नयाँ मतदाता थपिएका छन् ।

राष्ट्रिय परिचयपत्र मार्फत नामावली समावेश गर्न पाउँदा विदेशमा रहेका तथा कामको शिलशिलामा बाहिर रहेकाहरु धेरै लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २० गते मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुने र त्यस पछि अद्यावदिकको काम सुरु हुने छ ।

नाम दोहोरो परेका, कागजात तथा रित नपुगेका, मृत्यु भएकाहरुको विवरण अद्यावदिक पश्चात पुस १५ मा अन्तिम नामावली तयार हुने प्रमुख थापाको भनाइ छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्याबधिक गर्ने काम पूरा भएपछि मात्रै जिल्लाको पूरा मतदाता विवरण तयार हुने उहाँले जानकारी दिनुभयो ।