• ७ मंसिर २०८२, आइतबार

गन्धर्व समुदायको परम्परागत सिप संरक्षणमा चुनौती

blog

घोराहीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली 
घोराही, मङ्सिर ७ गते ।
गन्धर्व समुदायको परम्परागत सिप संरक्षणसँगै नयाँ पुस्तालाई सारङ्गी बजाउन सिकाएर आयआर्जनसँग जोड्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशिक्षकका लागि सार्वजनिक सूचना निकाल्यो । २०८२ कात्तिक ११ गते निकालेको सूचनामा कार्यविधि अनुसार योग्यता पुगेका प्रशिक्षक र सहायक प्रशिक्षकलाई सात दिनभित्र सूचीकृत हुन भनिएको थियो ।

तर करिब एक महिना समय बित्न लाग्दासमेत कार्यालयले सारङ्गी बजाउन सिकाउने कार्यविधि अनुसार योग्य प्रशिक्षक पाउन सकेको छैन । सारङ्गी बजाउन सिकाउने मात्र होइन, चालु आर्थिक वर्षमै सुनचाँदीका गरगहना बनाउने तालिम सिकाउनका लागि समेत प्रशिक्षक कार्यालयले पाउन नसकेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेल बताउनुहुन्छ ।

सुनचाँदीका गरगरहना बनाउने दक्ष कालीगढ उत्पादन गर्दै नयाँ पुस्तालाई रोजगारीमा जोड्ने उद्देश्यले जिल्लामा पहिलो पटक सञ्चालन गर्न थालिएको तालिम प्रशिक्षककै अभावमा सञ्चालन नहुने हो कि भन्ने चिन्ता थपिन थालेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

सारङ्गी बजाउने, सुनका गरगहना बनाउनेसँगै बाँस फर्निचर मेकर र ढकिया बनाउने तालिमका लागि प्रशिक्षक पाउन समस्या भएको छ । ‘‘कटाई सिलाई, व्युटिपार्लरलगायतका अन्य तालिम सञ्चालनका लागि प्रशिक्षक पाउन समस्या छैन, जति माग्यो पाइन्छ’’, सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘‘तर परम्परागत सिप संरक्षणका लागि कार्यविधिले भने अनुसार प्रशिक्षक पाउ समस्या हुन्छ । जसले गर्दा तालिम सञ्चालन गर्न अप्ठ्यारो छ ।’’ २०/२० जनालाई रोजगारी दिने गरी सञ्चालन गर्ने भनिएका तालिम प्रशिक्षक नपाउँदा सञ्चालन गर्न समस्या भएको बताउनुहुन्छ ।

सरकारी सञ्चालन गर्ने तालिम कार्यविधि अनुसार सञ्चालन गर्नुपर्ने तर त्यस अनुसारको प्रशिक्षक नहुँदा प्रत्येक वर्ष परम्परागत सिपमूलक तालिम सञ्चालन गर्न समस्या पर्ने गरेको छ । कार्यालय सूचना अधिकारी पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा सिप परीक्षण र सिप विकासअन्तर्गत मन्टेश्वरी तालिम, मोबाइल रिपियरिङ, प्लम्बिङ, बाँस फर्निचर मेकर, गलैँचा बनाउने, ढकिया बनाउने, सुन–चाँदीका गरगहना, लोपोन्मुख बाद्यवादन तथा पञ्चे बाजा बजाउने, सारङ्गी बजाउने तीनमहिने तालिम, ४५ दिने व्युटिपार्लर, होजियारी, कटाई सिलाइ तथा दुना टपरी तालिम सञ्चालन गर्ने योजना रहेको छ ।

कार्यविधि अनुसार तालिम सञ्चालनका लागि शैक्षिक योग्यतासँगै तालिम तथा अनुभव प्रमाणपत्र र प्रशिक्षक प्रशिक्षण प्रमाणपत्र अनिवार्य गरेको छ । त्यसका लागि प्रशिक्षक सूचीकृत गर्न मान्यता प्राप्त शिक्षण संस्था/विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उपाधी प्राप्त गरी प्रशिक्षक प्रशिक्षणको तालिम लिएको वा सम्बन्धित विषयमा प्रमाणपत्र डिप्लोमा तह उत्तीर्ण गरी प्रशिक्षक प्रशिक्षण तालिम लिएको र कम्तीमा तीन वर्षको कार्याअनुभव भएको वा सम्बन्धित विषयमा सिप तह–२ उत्तीर्ण गरी तीन वर्षको अनुभव भएको हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।