• २ मंसिर २०८२, मङ्गलबार

प्रदेश सरकारले न्यायमुखी काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर २ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ । मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका–१, तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान कार्यको सुरुवात गर्ने कार्यक्रममा मुख्यमन्त्री बानियाँले आगामी बजेट त्यतै लक्षित हुने पनि बताउनुभयो । 

विकाससँगै नागरिकलाई सिप र तालिम प्रदान गरी आय आर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको उहाँको भनाइ छ । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले निर्वाचनका बेला भ्रम छर्नेदेखि सचेत रहन आम मतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

स्ल्याब ढलान सुरुवात कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँवासीलाई आयआर्जन र सीप प्रवर्धन गर्दै स्वरोजगार प्रवर्धन गर्न गाउँपालिकाले धेरै काम गरिरहेको बताउनुभयो । किसानलाई गाई भैँसी पालनमा प्रोत्साहनको लागि दुध बिक्रीको पैसा समयमै भुक्तानी दिलाउन गाउँपालिकाले दुग्ध डेरीसँग सम्झौता गरी काम गरिरहेको उहाँले बताउनुभयो । दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाई भैँसी पाल्ने किसानको सङ्ख्या बढेको उहाँको भनाइ थियो । शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने गरिएको बताउँदै उहाँले यसले गर्दा आम नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताउनुभयो । 

बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१, तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान सुरु भएको हो । ६ मिटर चौडाइ र ७ सय ३२ मिटर लम्बाई रहेको सडक स्वल्याब ढलान कार्यको मुख्यमन्त्री बानियाँले कङ्क्रिट बिछ्याउन सुरुवात गराउनुभएको हो । ७४ लाख ९६ हजार रुपियाँमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले सडक निर्माणको काम थालेको हो । मनहरी गाउँपालिका १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सडक स्ल्याब ढलान शिलान्यास कार्यक्रम भएको थियो ।