• २ मंसिर २०८२, मङ्गलबार

बजार नपाउँदा घरमै थन्कियो प्याज

blog

बजार नपाएपछि ओलेनावासीले घरको पर्खालमा झुण्ड्याएको प्याज । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २ गते । बाजुराको ओलेनावासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरु कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् । 

यहाँका किसानले उत्पादन गरेको आर्गानिक प्याज मार्तडीको बजारमा बिक्री हुने र त्यसैबाट प्राप्त भएको रकमले उनीहरू घरपरिवार पाल्ने गर्दछन् । यो वर्ष भने यहाँका किसानले उत्पादन गरेको प्याजले कतै बजार पाउन सकेको छैन । बजार नपाउँदा अहिले यहाँको प्याज गाउँमै थन्किँदै आएको छ । यसरी लामो समय घरको कोठामा प्याज थन्किदै आएको प्याज यती बेला सड्न थालेको छ । 

कोठामा थन्क्याएर राखेको प्याज सड्न र सुक्न थालेपछि उनीहरूले अहिले त्यो प्याजलाई फेरि घरको पर्खालमा झुण्ड्याउन थालेका छन् । 

प्याज जोगाउनका लागि उनीहरूले एक डोरीको सहायताले घरको पर्खालमा झण्ड्याउने गरेका हुन् । कोठामा राख्दा प्याज कुहिन थालेपछि यती बेला घरको पर्खालमा झुण्ड्याउने गरेको बडीमालिका नगरपालिका-४, ओलेनाका स्थानीय कमल नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ओलेनामा झण्डै १२ घरपरिवारको बसोवास छ । यी सबै परिवारले प्रत्येक वर्षमा प्याज खेती गर्ने गर्दछन् । एक परिवारले कम्तीमा पनि पाँच क्विन्टल प्याज उत्पादन गर्दछन् । अहिले हाम्रो झण्डै असी क्विन्टल प्याज उत्पादन भएको छ । त्यो प्याज अहिले घरमा जम्मा छ ।” 

पहिलादेखि अहिलेसम्म तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीले हामीले घरपरिवार पालन पोषण गर्ने गरेका थियौैँ । अहिले यो प्याजले कतै बजार नपाउँदा यो वर्ष हामीलाई निकै समस्या भएको नाथले बताउनुभयो ।

ओलेना केही समय पहिला तरकारी खेती उत्पादन गर्ने एक उत्कृष्ट ठाउँको रूपमा चिनिँदै आएको थियो । अहिले पनि यो ठाउँका किसानले तरकारी खेती गर्दै आएका छन् । तर पछिल्लो समय यहाँको तरकारी कतै बिक्री नहुने गरेपछि उनीहरू अब कसरी पेट पाल्ने भन्ने चिन्तामा छन् । 

यहाँका किसानले गत जेठ असारको महिना झण्डै ८० क्विन्टल प्याज निकालेर घरमा थन्क्याएका छन् ।  त्यो प्याज अहिलेसम्म कतै बिक्री हुन सकेको छैन । अहिले यो प्याज लामो समय कसरी राख्ने भन्ने उनीहरूमा थप चिन्ता भएको छ । 

पाँच महिना उनीहरू प्याज घरको कोठामा राख्दै आएका थिए । त्यहाँ लामो समयसम्म प्याज राख्दा केही सडेको र केही सुकेर खेर गएपछि अहिले उनीहरूले बाँकी रहेको त्यो प्याज आफ्नो घरको पर्खालमा झुण्ड्याउँदै आएका छन् । 

उसो त यहाँको प्याज मात्र बिक्री नभएको होइन । जिल्लाको हिमाली , स्वामिकार्तिक खापर गाउँपालिकामा  उत्पादन भएको अर्गानिक प्याजले समेत बजार पाएको छैन । यहाँका स्थानीयले तहले निर्माण गरेका चिस्यान केन्द्र अझै सञ्चालनमा छैन् । ती चिस्यान केन्द्र सञ्चालनमा आएको भए पनि उनीहरूलाई केही महिनाका लागि त्यसमा प्याज स्टोर गर्न सहज हुन्थ्यो ।

बाजुरामा उत्पादन भएको तरकारी तथा फलफूललाई बजार सम्म पुर्‍याउन हामीले ढुवानीका लागि अनुदानको व्यवस्था बाहेक अरु केही गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षमा यहाँका केही स्थानीय तहमा प्याज राम्रो उत्पादन भएको छ । तर त्यो प्याजले समयमा बजार पाएन । बजार नपाउँदा यहाँ किसानले उत्पादन गरेको त्यो प्याज यती बेला त्यसै खेर जाने अवस्थामा छ ।”

प्याज यति हेक्टरमा लगाउने गरेको यति क्वीन्टल प्याज उत्पादन हुन्छ भन्ने कुराको खासै तथ्याङ्क नभएपनि यो वर्ष जिल्लाका विभिन्न ठाउँमा झण्डै एक हजार भन्दाबढी प्याज भएको आँकलन गर्न सकिन्छ । यो प्याज पनि अँझै बिक्री हुन सकेको छैन् । कतै बजार पाएमा हामीले यहाँका किसानलाई ढुवानीका लागि अनुदानको व्यवस्था गर्न तयार भएको साहनीले बताउनुभयो ।