• २० वैशाख २०८३, आइतबार

उत्तरी गोरखामा हिमपात : छ पर्वतारोहीको उद्धारमा समस्या

blog

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक १२ गते ।
हिमपातका कारण उत्तरी गोरखा र चीनको सिमानामा रहेको पातबारी हिमाल आरोहणका क्रममा फसेका तीन नेपालीसहित ६ जना पर्वतारोहीको उद्धारमा कठिनाइ उत्पन्न भएको छ ।

तीन जना इटालियन नागरिक र तीन जना नेपाली पर्वतरोहीका सोमबार बेलुकालदेखि सम्पर्क हुन नसकेपछि उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

‘‘सम्पर्कविहीन भएका टोली ११ दिन अगाडि पातबारी हिमालको आधार शिविरतर्फ प्रस्थान गरेको थियो,’’ गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भन्नुभयो, ‘‘उहाँहरु निर्धारित मितिमा आधार शिविर फर्कनुपर्नेमा हालसम्म स्याटलाइट फोनले काम नगरेका कारण वा अन्य कारणले सम्पर्क हुन नसकेको हो त्यस बारेमा बुझने कोशिस भइरहेको छ ।’’

पर्वतारोही टोलीका एक सदस्यले मङ्गलबार सम्पर्कविहीन भएका पर्वतारोहीलाई उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्याल गोरखामार्फत हेलिको अनुमति माग गरी हेलि उडाउने तयारी भए पनि मौसम खराबीका कारण हेलि उड्न नसकेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धार टोलीलाई तयारी अवस्थामा राखिएकाले मौसम सुधार भएपछि उद्धार टोलीलाई खोजतलासका लागि सम्भावित सम्पर्क क्षेत्रका वरिपरि खोजी कार्य प्रारम्भ गरिने तयारी भइरहेको बताइएको छ ।

‘‘उत्तरी गोरखामा हिमपात भइरहेकले हेलिकोप्टर जान नसक्ने अस्थामा छ,’’ प्रमुख जिल्ला अधिकारी कडरियाले भन्नुभयो, ‘‘६ जना पर्वतारोहीलाई उद्धार गर्न त्यहाँका स्थानीय गाइड, स्थानीय र सशस्त्र प्रहरीको टोली घोडा लिएर पठाउने तयारी भइरहेको छ ।’’

पातबारी हिमाल गोरखाको उत्तरी सिमामा अवस्थित एक चुनौतीपूर्ण र प्राविधिक रुपमा जटिल हिमाल हो । जसको उचाइ झण्डै ६ हजार मिटर आसपास रहेको बताइन्छ । उक्त क्षेत्र दुर्गम तथा जोखिमपूर्ण भएकाले हिउँ, हावाहुरी र चिसो तापक्रमका कारण आरोहण कठिन मानिन्छ ।

अहिले स्थानीय बासिन्दा तथा गाइडहरुले पनि सम्भावित बाटोहरुमा खोजी कार्यमा सहयोग गर्ने तयारी गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै मौसममा सुधार नआएसम्म पर्वतारोहण टोलीलाई सावधानी अपनाउन र प्रतिकूल मौसममा आरोहण नगर्न आग्रह गरेको छ ।