• २ कात्तिक २०८२, आइतबार

सीमापारि भिड, वारि सुनसान

blog

सुनौलीको पसलमा देखिएको नेपाली उपभोक्ताको भिड । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक २ गते । तिहार नजिकिँदै गर्दा रूपन्देहीको सीमापारि भारतको सुनौली बजारमा नेपाली उपभोक्ताको भिड बढ्दै गएको छ । दसैँदेखि नै सुरु भएको चहलपहल अहिले थप बढेको छ ।

दिनभर सुनौली बजार भिडभाडले भरिने गरेको छ । बेलहिया नाकापारिको यो बजार अहिले नेपाली ग्राहकले धानेको छ । दसैँतिहारका बेला मात्र होइन, विवाहको सिजनमा पनि सुनौली किनमेलकर्ताले रौनक थप्ने गर्छन् ।

यो समयमा खाद्यान्नदेखि कपडासम्मका सामान किन्न हजारौँ नेपाली ग्राहक सुनौली पुग्ने गरेका छन् । हातमा झोला बोकेर बेलहिया नाकातर्फ पैदल यात्रुको लस्कर देखिन्छ भने मोटरसाइकलमा भारत पस्न खोज्नेको लाइन पनि लामो हुने गरेको छ ।

बुटवल–११, देवीनगरकी नमिता ढकाल पनि शुक्रबार सामान्य किनमेलका लागि सुनौली बजार पुग्नुभएको थियो । उहाँले भन्नुभयो, “आफूलाई चाहिने लेडिज सामान किन्न आएकी हुँ । बुटवलभन्दा केही सस्तो पनि पाइन्छ ।”

हाल बुटवल र भैरहवामा चिनीको मूल्य प्रतिकिलो ९९ रुपियाँ पर्छ भने सुनौली बजारमा सोही चिनी ७२ रुपियाँ प्रतिकिलोमा पाइन्छ । त्यस्तै अन्य खाद्यवस्तु पनि केही सस्तो हुने उपभोक्ता बताउँछन् । तिलोत्तमा–४, शङ्रनगरी माया पुरी भन्नुहुन्छ, “धेरै जना सुनौली बजार सस्तो छ भन्छन्, हामी पनि जाऊँ न भनेर आएका हौँ । केही सामान सस्तो लाग्यो तर गुणस्तर कस्तो हो, त्यसको निश्चित छैन ।” नेपाली किनमेलकर्ताको बढ्दो आकर्षणले सीमावारिका व्यापारी भने चिन्तित भएका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष भीष्मप्रसाद न्यौपानेका अनुसार सुनौली बजारको प्रभावले सबैभन्दा बढी मार भैरहवाको व्यवसायमा परेको छ ।

“हामीकहाँ त चुलोमा भाँडा बसाल्दा तेल सकियो भने पनि पारि गएर तेल ल्याउने स्थिति छ,” उहाँले भन्नुभयो, “यसरी सामान सस्तोमा भित्रिँदा स्थानीय उद्योग र व्यवसायमा ठुलो असर पर्छ ।” न्यौपानेले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “भारतबाट आउने सामान कम्तीमा कानुनी रूपमा आउन प¥यो,” उहाँले भन्नुभयो, “एक किलो चिनी ल्याए पनि रेकर्ड राख्ने प्रणाली बनाइयो भने तथ्याङ्क स्पष्ट हुन्छ र किनमेल गर्न सहज रूपमा लाइन बस्ने पनि घट्छ ।”

बढ्दो सीमापारि किनमेलका कारण बुटवल र भैरहवाका बजारमा पनि कारोबार सुस्त छ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार अपेक्षित मात्रामा व्यापार हुन सकेको छैन । भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले चेकजाँच कडाइका साथ भइरहेको बताउँदै यात्रु शाखाको निगरानी बढेको बताउनुभयो ।