गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । पर्वतको कुस्मा र बागलुङको बलेवाबिचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शङ्कर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आउनुभएको छ ।
बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘दी क्लिफ’ मा पहिलो पटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवर्धनको उद्देश्यले शङ्कर कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु सराहनीय रहेको दी क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।
नेपालमा पहिलो पटक सबैभन्दा ठुलो उचाइमा हाइलाइन गरिएको उहाँले जानकारी दिनुभयो । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने उहाँको अपेक्षा छ । ४०८ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ दी क्लिफलाई जोडेको छ ।
हाइलाइन २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा हिँड्ने साहसिक खेल हो । यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ ।