अमरराज नहर्की
तनहुँ, कात्तिक १ गते । तनहुँमा तिहार पर्वलाई सुरक्षित, मर्यादित र प्रदूषणमुक्त रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले विशेष निर्देशन जारी गरेको छ ।
प्रशासनले देउसी–भैलो खेल्न राति ९ बजेसम्म मात्रै अनुमति रहने, त्यसपछि रोक लगाइने जानकारी दिएको छ । यससँगै पटाका, आतसबाजी, मदिरा सेवन र विद्युत् उपकरणको अव्यवस्थित प्रयोगबाट हुन सक्ने सम्भावित दुर्घटना रोक्न सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तिहार नेपालीको आत्मीयता, प्रकाश र स्नेहको पर्व हो। यसको मौलिकता जोगाउँदै मर्यादित र जिम्मेवारीपूर्वक मनाउन सबै नागरिकसँग अनुरोध गर्दछौं ।’’
देउसी–भैलो खेल्न राति ९ बजेपछि अनुमति छैन र यस अवधिमा सुरक्षाको ख्याल नगरी गतिविधि गर्दा दुर्घटना हुन सक्ने भएको प्रतिबन्ध लगाइएको जनाइएको छ ।
प्रशासनले जिल्लाभरका सुरक्षासंस्था, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी भीडभाड, आतसबाजी, अनियन्त्रित सवारी सञ्चालन, विद्युत् प्रयोग जस्ता जोखिम रोक्न निगरानी बढाएको छ।