• १ कात्तिक २०८२, शनिबार

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

blog

इस्लामाबाद, कार्तिक १ गते । पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) को एक समूहविरुद्ध गरिएको हो ।

उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो । आक्रमणमा समूहका मुख्य नेतासहित ठुलो सङ्ख्यामा आतङ्ककारी मारिएका स्रोतहरूले बताएका छन् । हाल टिटिपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण जारी राखेको जनाइएको छ । 

शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए । सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतङ्ककारी अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए । पाकिस्तानी सुरक्षाबलले आतङ्ककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी पनि दिएको छ । रासस/सिन्ह्वा