• १ कात्तिक २०८२, शनिबार

बागलुङमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

blog

अर्जुन कार्की

काठेखोला (बागलुङ), कात्तिक १ गते । कात्तिक कृष्ण त्रयोदशीका दिन आज (शनिबार)देखि तिहार पर्व सुरु भएको छ । तिहार पर्वको अवसरमा देशभर देउसीभैलो खेल्न थालिएको छ । बागलुङमा पनि शनिबारदेखि विभिन्न क्लब, समूहहरूले देउसीभैलो खेल्न सुरु गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरि पर्वहरू प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत नारायण कार्कीले विज्ञप्ती प्रकाशित गरि देउसी, भैली लगायतका सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा एकापसमा भाइचारा र आत्मियता अभिवृद्धि तथा आआफ्नो संस्कृतिको संरक्षण गरी, अरुको धर्म, संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सैहार्धपूर्ण तरिकाले मनाउनु अनुरोध गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको छ । प्रशासकीय अधिकृत कार्कीले सुरक्षालाई लक्षित गर्दै उक्त निर्णय भएको बताउनुभयो । विज्ञप्ती मार्फत सवारी साधनको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न तथा विभिन्न बाहाना बनाई लामोछोटो दूरीका भाडाका सवारी साधनहरूले यात्रुसँग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएमा प्रहरीलाई सम्पर्क गर्न प्रशासनले अनुरोध गरिएको छ । 

दीपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक र ज्वलनशील मालवस्तु पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना हुने भएकाले त्यस्ता विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री गर्ने कार्य पूर्णतः रोक लगाइएको विज्ञप्तीमा उल्लेख छ । कोही कसैबाट त्यस किसिमका गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।

प्रशासकीय अधिकृत कार्कीले तिहारमा तास, कौडा लगायतका पैसाको हारजित हुने जुवाजन्य खेल नखेल्न र नखेलाउन तथा बजारमा कृत्रिम अभाव, कालोबाजरी, अस्वभाविक मूल्यवृद्धि जस्ता कार्य नगर्न अनुरोध गर्दै गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने बताउनुभयो ।