• १ पुस २०८२, मङ्गलबार

दसैँमा पनि सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

blog

दसैँको बेला पनि मर्मत हुन नसकेको कालीकोटको ग्रामीण सडक ।

कालीकोट समाचारदाता 

कालीकोट, असोज १० गते  । दसैँको बेला पनि मर्मत हुन नसकेको कालीकोटको ग्रामीण सडक ।  नजिकिँदै गर्दा कालीकोटका ग्रामीण सडक अझै पनि जीर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दसैँमा घर जाने यात्रुलाई दैनिक सास्ती भइरहेको छ । चाडपर्वमा गाउँ फर्कने र कृषिजन्य उत्पादन बजार पु-याउने बेला आउँदा पनि स्थानीय तहले सडक सुधारमा ध्यान नदिएको भन्दै सर्वसाधारण असन्तुष्ट भएका छन् । वर्षायामका कारण सडक खाल्टाखुल्टीले भरिएका छन् भने कतिपय स्थानमा हिलाम्मे र चिप्लो बनेका कारण सवारीसाधन नियमित सञ्चालनमा समस्या देखिएको छ । कालीकोटको रास्कोट नगरपालिका–२ का जनक खड्काले भन्नुभयो, “दसैँमा घर आउन जान सजिलो हुन्छ भन्ने आशामा बसेका थियौँ तर सडक अवस्था झनै बिग्रिँदै गएको छ ।” 

उहाँका अनुसार जनताले सडक सुधारका लागि पटक पटक माग गर्दा पनि स्थानीय तहका जनप्रतिनिधि मौन बसिरहेका छन् । मूल सडक मर्मत नगर्दा वडा नं. १, २ र ३ जाने नागरिक र छिमेकी गाउँपालिका जाने यात्रुले दुःख पाइरहेको उहाँले बताउनुभयो । 

रास्कोट हुँदै सान्नीत्रिवेणी गाउँपालिका–७, ८ र ९ जाने यात्रु तुसारखोलाको पहिरो नपन्छाएका कारणले पैदल जान बाध्य छन् । यस्तै शुभकालिका गाउँपालिका–२ र ३ जाने सडक अवरुद्ध भएको चार महिना भयो । दसैँमा खुल्छ होला भनेर आसमा रहेका जिल्लाबाहिर पढ्ने विद्यार्थी र कर्मचारी अहिले निराश छन् । वडा नं. ३ का खडानन्द अधिकारीले दसैँमा घर जान सकिने अवस्था नभएकोे बताउनुभयो । 

नरहरिनाथ गाउँपालिकाको बेथा पनि उस्तै छ । नरहरिनाथ–५ का अडिक बोगटीले सडक मर्मत गरेको भए एकै दिन घर पुग्थ्यौँ भन्दै तर मर्मत नहुँदा एक हप्ताअगाडि नै घरको बाटो लाग्नुपर्ने अवस्था आएको सुनाउनुभयो । यसै गरी पलाँता गाउँपालिका र पचाल झरना गाउँपालिकाका सडक पनि दसैँको बेला मर्मत गरिएको छैन । नागरिकले चाडपर्वलाई ध्यानमा राख्दै तत्काल खाल्टाखुल्टी पुरेर भए पनि सडक सुधार गरिनुपर्ने माग गरेका छन् । स्थानीय तुलाराज पाण्डेले चाडपर्वमा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिँदै स्थानीय सरकारले चाडबाडका बेला सडक सुधार गरिदिन आग्रह गर्नुभयो । 

आवागमनमा समस्या 

रलिङ समाचारदाताका अनुसार हुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ग्रामीण सडक सहज नहुँदा गाउँ पुग्ने यात्रुले सास्ती खेप्नु परेको छ । कर्णाली कोरिडोरसँग जोडिएका जिल्लाको खुलालुदेखि हिल्सासम्मका विभिन्न स्थानका सडक जीर्ण भएर समयमै मर्मत नहुँदा दसैँको समय घर पुग्ने यात्रुले सास्ती खेप्नु परेको हो । चाडपर्वको समय मात्रै नभएर अरू बेला पनि समयमै सडक मर्मत र सुधार नगरेकाले यात्रुलाई दैनिक सास्ती भइरहेको छ । हुम्लाका नागरिकलाई दैनिक आवतजावतमा कर्णाली कोरिडोरको कच्चा सडकले समस्या दिइरहेको सर्केगाड गाउँपालिका–१, जैरका स्थानीय दिलबहादुर कार्कीले बताउनुभयो । 

कच्चा सडकको अर्को वैकल्पिक सडक नहुँदा चाडपर्वमा गाउँ फर्कने र कृषिजन्य उत्पादन बजार पु-याउनु पर्दा समस्या भइरहेको छ । कच्चा मात्रै नभएर हुम्लाको ताँजाकोट, अदानचुली क्षेत्रको पैमा, बालुकुना, सर्केगाडको स्याल्तडी, खार्पुनाथको मुसेडी, लालीबगर, बोक्चेगौँडा, सिमकोटको थलाहाल्नदेखि सदरमुकामको काठेचुलीलगायत क्षेत्रका सडकमा यात्रुले समस्या भोग्नु परेको छ ।