गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ५ गते । भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९ जनाभन्दा बढीमा उक्त रोग देखिएको र केरलामा १९ जनाको मृत्यु भइसकेको भन्दै नेपालमा पनि त्यसको जोखिम कायम रहेको बताउनुभयो । उहाँले अमिबा रोग अमेरिकामा समेत देखिएको जानकारी दिनुभयो । अमिबा दूषित पानी नाकबाट भित्र छिरेपछि सङ्क्रमण हुने जानकारी दिँदै नाकबाट दिमागसम्म पुगेपछि दिमागको कोषिकालाई नष्ट गर्न थाल्ने उहाँले बताउनुभयो । उहाँले यो रोग सामान्य सम्पर्क वा खानपानमार्फत नसर्ने जानकारी गराउँदै केन्द्रीय स्नायु प्रणालीमा असर पु¥याउने बताउनुभयो ।
पुनले यो रोगलाई अमिविक मेनिङ्गोइन्सेफलाइटिस (पिएएम) को नामले समेत चिनिने भन्दै यो दुर्लभ तर अत्यन्त घातक रोग रहेको बताउनुभयो । उहाँले यो रोगले नाकमार्फत मानिसको मस्तिष्कमा सङ्क्रमण गर्ने हुनाले पौडी खेल्दा, दूषित पानीमा डुब्दा सावधानी अपनाउनुपर्ने बताउनुभयो । अमिबा नाकमार्फत शरीरमा पस्ने र त्यसपछि दिमागमा पुग्ने भन्दै अमिबाको सङ्क्रमण भएपछि उच्च ज्वरो, तीव्र टाउको दुखाइ, घाँटी दुख्ने, बेहोस हुने लक्षण देखापर्ने उहाँले बताउनुभयो ।
अमिबाको मृत्युदर झन्डै ९७ प्रतिशत रहेको छ । अमेरिकी सङ्क्रामक रोग नियन्त्रणका अनुसार सन् १९७१ देखि २०२३ सम्म विश्वका विभिन्न देशमा सङ्क्रमित भएकामध्ये केवल आठ जना मात्र बाँच्न सफल भएका छन् । सङ्क्रमण सुरु भएको २४ घण्टाभित्रै पहिचान भयो भने केही हदसम्म उपचार सम्भव हुने हुन्छ । अमिबाको उपचारमा एन्टिमाइ क्रोबियल औषधी प्रयोग गर्ने गरिन्छ ।