नौरते नेपाली
सिँजा (जुम्ला), असोज ५ गते । घरबारविहीन विपन्न र दलित परिवारका लागि जुम्लामा हालसम्म २०८ वटा आवास निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको पहलमा पूर्वाधार विकास कार्यालय जुम्लामार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आवास निर्माण गरिएको हो ।
यस कार्यक्रम अन्तर्गत घर नहुँदा कठिनाइमा परेका गरिब तथा दलित परिवारले नयाँ घर पाएका छन् । सामाजिक न्याय र जीवनस्तर उकास्नका लागि सञ्चालन गरिएको यस योजनाले जिल्लाभरका आवासबाट वञ्चित परिवारलाई प्रत्यक्ष लाभ पुगेको कार्यालयका नायब सुब्बा धर्मराज रावलले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा १८ विपन्न र १८ जनता आवासका घर निर्माण भएका छन् । यस्तै आव २०८१/८२ मा पनि १८ विपन्न र १८ जनता आवासका घर निर्माण भएको रावलले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्राविधिक हेमन्त न्यौपानेले गत वर्ष विपन्न परिवारका लागि निर्माण भएका १८ मध्ये पाँच वटा घरको भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । समयमै निर्माण कार्य सम्पन्न नभएकाले भुक्तानीमा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो ।
विसं २०७५ बाट जनता आवास र विपन्न परिवारका लागि जुम्लामा घर निर्माण कार्य सुरु भएको हो । हालसम्म २०८ वटा घर निर्माण भएका छन् भने १४ वटा हस्तान्तरण हुन बाँकी रहेको उहाँले जानकारी गराउनुभयो । प्रत्येक घर तीन लाख ३३ हजार छ सय रुपियाँको लागतमा निर्माण गरिएको हो । दुई कोठा, बिचमा कोलिया र शौचालयसहितको घर निर्माण भएको प्राविधिक न्यौपानेले बताउनुभयो । विपन्न तथा घरबारविहीन परिवारलाई कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले ठुलो राहत पुगेको छ ।
यस कार्यक्रम अन्तर्गत घर नभएका दलित, विपन्न र असहाय परिवारलाई लक्षित गरिएको हो । घर पाएका लाभग्राहीले विगतको बर्खाको समयमा छानो टालटुल गरेर गुजारा गर्नु परेको बताउँदै सरकारले दिएको नयाँ आवासले सुरक्षित र सम्मानजनक जीवन सुरु गर्ने अवसर मिलेको बताएका छन् ।
गुठीचौर गाउँपालिका–५, देपालगाउँका धनसिंह सार्कीले घरबारविहीनका लागि राहत भएको बताउनुभयो । पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरका स्थानीय तहबाट सिफारिस भएका घरविहीन परिवारलाई प्राथमिकता दिई चरणबद्ध रूपमा आवास हस्तान्तरण गरिएको हो । यसले सामाजिक न्याय, दिगो बसोबास र गरिबी न्यूनीकरणमा सहयोग पुगेको कार्यालयको भनाइ छ । स्थानीय तहका प्रतिनिधिले जनता आवास कार्यक्रमले ग्रामीण क्षेत्रमा घर नभएका परिवारलाई जीवनस्तर सुधार्न मद्दत पु¥याएको भन्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।