काठमाडौँ, असोज ४ गते । गोरखापत्रका फोटो पत्रकार कविता थापालाई “कमलबहादुर विष्ट स्मृति पुरस्कार”प्रदान गरिएको छ । साहित्यकार कमलबहादुर विष्ट स्मृति प्रतिष्ठानद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा फोटो पत्रकार थापालाई १५ हजार रुपियाँ नगदसहित कमलबहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको हो ।
साहित्यकार कमलबहादुर विष्ट स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व वन तथा वातावरण मन्त्री एवं वागमति प्रदेश सदस्य राजु विष्टले साहित्यकार विष्ट निक्कै सरल र मेहनतलाई विश्वास गर्ने व्यक्तित्वको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको सो पुरस्कार पनि समाजमा पत्रकारिता, साहित्यलगायतका विविध क्षेत्रमा सक्रिय रहने व्यक्तित्वलाई नै प्रदान गर्दै आएको बताउनुभयो ।
साहित्यकार कमलबहादुर विष्टका सुपुत्री साहित्यकार डा. गायत्री विष्टले निजामतिमा सेवामा रहेर काम गर्नु भएका आफ्ना पिता, पत्रकारिता र साहित्यतर्फ पनि निक्कै झुकाव राख्ने व्यक्तित्व हुनुभएको स्मरण गर्नुभयो । उहाँले पिताको पदचाप पछ्याउँदै आफु पनि साहित्य क्षेत्रमा कलम चलाउँदै आएको बताउनुभयो ।
उहाँले वि.स.२०७६ सालमा कोरोनाको समयमा पिताको निधन भएपछि उहाँका फुटकर कविताहरु सङ्ग्रह गरी प्रकाशन गरिएको र उहाँको स्मृतिमा माता मिश्रीमैया विष्ट संरक्षक रहने गरी दुई लाख रुपियाँको अक्षयकोषसहित स्मृति पुरस्कार राखिएको जानकारी दिनुभयो ।
सोही अक्षयकोषबाट हरेक वर्ष पत्रकारिता, साहित्य, सङ्गीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्ने क्रममा यस वर्ष करिब दुई दशक फोटो पत्रकारिता गरेकी कविता थापालाई पुरस्कृत गरिएको बताउनुभयो । भक्तपुर गुण्डु निवासी फोटो पत्रकार कविता थापाले वि.स. २०६४ सालदेखि फोटो पत्रकारिता गर्दै आउनुभएको छ । वि.स.२०६६ सालदेखि गोरखापत्र संस्थानमा फोटो पत्रकारका रुपमा कार्यरत हुनुहुन्छ ।