काठमाडौँ, असोज ४ गते । टोखाको चाकु संरक्षण समाजको छैटौं साधारणा सभाले बुद्ध श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ । टोखा क्षेत्रकै मौलिक पहिचान परम्परागत चाकुको संरक्षण प्रवद्र्धन गर्न स्थापना भएको टोखा परम्परागत चाकु संरक्षण समाजको छैठौं साधारण सभाले उहाँलाई अध्यक्षका रुपमा चयन गरेको हो ।
सो अवसरमा संस्थाको प्रथम अधिवेशन पनि सम्पन्न भएको हो । समाजले अध्यक्ष बुद्ध श्रेष्ठसहित १८ जनाको नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो । समाजका निवर्तमान अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले टोखाको पहिचानलाई उद्यमका रुपमा अगाडि बढाउन “ऐतिहासिक, परम्परागत, मौलिक टोखा चाकुको संरक्षण गरौं, स्वरोजगार उद्यमी युवा पुस्तालाई हस्तान्तरण गर्दै जाऔं” भन्ने नारा साकार पार्न व्यवहारिक रुपमै काम गरिरहेको बताउनुभयो ।
टोखा नगरपालिका-३ का अध्यक्ष रमेश डंगोलले सो समाजमार्फत एकजुट भएर चाकु व्यवसायको प्रवद्र्धन गर्दा नयाँ पुस्तालाई आत्मनिर्भर बन्ने अवसर पाएको बताउनुभयो । उहाँले समाजले गरेका सकारात्मक पहल र कदममा साथ दिन स्थानीय तहले पनि सक्दो सहयोग गर्दै आएको बताउनुभयो । साधारणसभाले समाजका १८ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छ ।
टोखामा सख्खर प्रयोग गरेर बनाइने परम्परागत चाकु संस्कृतिको अभिन्न खाद्य पदार्थका रुपमा प्रयोग हुन्छ । टोखा परम्परागत चाकु समाजले चाकुलाई उद्योगका रुपमा विकास, प्रवद्र्धन गर्दै युवाको संलग्नता बढाउँदै लगेको छ । यसबाट युवा उद्यमसिलताको विकास भएको छ ।