धर्बेन्द्र झा
जनकपुरधाम ,असोज ४ गते। जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनु भएको छैन।
मुख्यमन्त्री सिंहलाई जनमतपार्टी संसदीय दल मधेश प्रदेशका नेता महेशकुमार यादवसहित प्रतिपक्षी दलका नेताहरुले समेत राजीनामाका लागि दबाब भने दिइरहेका छन्।
संचारकर्मीसँगको कुराकानीमा उहाँले जेनजी आन्दोलनको क्रममा देशको अवस्थालाई हेरेर मधेश प्रदेशको परिस्थितिलाई समान्य पार्न प्रदेश प्रमुखसमक्ष राजीनामा नगरेको बताउनुभयो। उहाँले जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिलाई प्रदेशसभामै सामना गर्ने तयारी रहेको बताउनुभयो।
यता जनमत पार्टी संसदीय दल मधेश प्रदेशका नेता महेश यादवले जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नु भएका सिंहले पार्टीको निर्णय नमान्नु ठिक नभएको बताउनुभयो। दलले स्पष्टीकरण सोधेर मुख्यमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउने बताउनुभयो।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ।
प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले मुख्यमन्त्रीको विश्वासको मतको सन्दर्भमा प्रदेशसभाले नै टुंगो गरेर प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेपछि प्रदेश प्रमुखले प्रमाणिकरण गर्ने अधिकार मात्रै भएको बताउनुभयो।
सत्ता साझेदार दल एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री सिंह जनमत पार्टीको मात्रै नभएर एमाले, कांग्रेस र लोसपाको गठबन्धनबाट निर्वाचित मुख्यमन्त्री रहेकोले जनमत पार्टीले मुख्यमन्त्री फिर्ता बोलाउनु अघि गठबन्धनमा छलफल गर्नुपर्ने बताउनुभयो। मधेश प्रदेशमा असोज ७ गते प्रदेशसभा बैठक बस्दैछ।