रामकृष्ण बोहरा
बागलुङ, असोज ४ गते । देशको पछिल्लो परिस्थिीत तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र खर्वाङ बजारवासीले बजार सुरक्षा समन्वय समिति गठन गरेका छन् ।
उद्योगी व्यवसायीको आह्वान तथा वडा कार्यालयको समन्वयमा भएको भेलाले बलबहादुर पुन संयोजक र टङ्क भुजेल सहसंयोजक रहेको ११ सदस्यीय सुरक्षा समन्वय समितिको गठन गरेको हो । भेलाले बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेराले काम नगरेकाले तत्काल मर्मतका लागि वडामार्फत पालिकामा अनुरोध गरेको छ ।
भेलाले बजार क्षेत्रका होटलहरू राति ९ बजे तथा पसलहरू ८ बजे बन्द गर्नुपर्ने, मदिरा तथा सूर्तिजन्य सामग्रीको बेचबिखन गर्दा अनिवार्य कानुनको पालना गर्नुपर्ने र सार्वजनिक स्थल, सडक, होटल लगायतका ठाउँमा धुम्रपान बढेकोले कानुन विपरित भेटिएको खण्डमा नियन्त्रणमा लिई प्रहरी कार्यालयलाई बुझाउने निर्णय गरेको छ ।
खर्वाङ प्रहरी चौकीको उपस्थितिमा भएको भेलाले चौकीमा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएकाले दरबन्दी अनुसारकै जनशक्ति व्यवस्थापनका लागि वडा हुँदै पालिकामार्फत सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउने निर्णय भएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो ।
भेलामा उद्योग वाणिज्य सङ्घ बडिगाडका अध्यक्ष खगिश्वर अर्यालले चाडपर्वमा हुने चोरीका घटना रोक्न नागरिक सचेत हुनुपर्ने बताउनुभएको थियो ।