अदिस अबाबा, असोज ४ गते । सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एमपक्स सम्बन्धी सहायक प्रबन्धक याप बौमले अनलाइन पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, जनवरी २०२४ देखि २९ वटा अफ्रिकी देशमा जम्मा एक लाख ९१ हजार ५ सय ५९ म्पोक्सका घटना रिपोर्ट भएका छन् ।
यसमा ५३ हजार १३ पुष्ट घटना र एक हजार ९९९ मृत्यु भएका छन् । बौमले रोकथाम प्रयासले सफलता देखाइरहेका र पछिल्ला हप्तामा शङ्कास्पद दुवै घटनाहरू घट्दै गएको बताउनु भएको छ । मे महिनामा उच्च स्तरमा पुगेका साप्ताहिक पुष्ट घटना ७० प्रतिशतले घटेर एक हजार ६२० बाट ४९१ मा झरेका छन् ।
त्यसै गरी, अफ्रिका रोग नियन्त्रण केन्द्रले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा समुदायमा आधारित निगरानी प्रणालीलाई अझ सशक्त बनाउन आग्रह गरेको छ, ताकि त्यहाँ फैलिएको इबोला रोगलाई नियन्त्रण गर्न सकियोस् ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबार कङ्गोको कासाई प्रान्तमा भएको नयाँ इबोला सङ्क्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भइसकेको जनाएको छ । ४८ घटना रिपोर्ट भएका छन्, जसमा ३८ पुष्ट छन् । १५ जना उपचाररत छन् भने दुई जना निको भएर घर फर्केका छन् ।
बौमले सबै शङ्कास्पद घटना पहिचान गरी उपचार केन्द्रमा सार्नु पर्नेमा जोड दिनुभयो । दुई जना बिरामी निको हुनु सकारात्मक खबर भएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, इबोला एक अत्यन्त सङ्क्रामक रोग हो जसले ज्वरो, वाकवाकी, पखाला, शरीर दुख्ने, कमजोरी लगायतका लक्षण देखाउँछ र धेरैमा आन्तरिक तथा बाह्य रक्तस्राव हुन्छ । रासस/सिन्ह्वा